Notice: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
नेटवर्क | सारथि बाल पत्रिका
Categories: बाल कथा

नेटवर्क


माहेश्वरी भट्ट
कञ्चनपुर

दशमीको बिहान। मनमायाले दहीमा अक्षता मुछिन्, जमरा मिलाइन् र टीकाको थाली पिँढीमा राखिन्।
आँगन सुनसान थियो।
कुनै बेला यही आँगनमा टीका थाप्नेहरूको पालो लाग्थ्यो। अहिले उनी फोनको पालो कुरिरहेकी थिइन्।
मोबाइल बज्यो।अस्ट्रेलियाबाट छोराको भिडियो कल थियो।
“आमा, दशैँको शुभकामना!”
स्क्रिनमा छोरा, बुहारी र दुई नातिनातिना देखिए।
मनमायाको अनुहार उज्यालियो।
“ल, निधार थाप।”
उता चारै जनाले क्यामेराअगाडि टाउको झुकाए।
मनमायाले अक्षतामा औँला चोपेर स्क्रिन छोइन्।
“दुर्गा भवानीले रक्षा गरून्। सुखी रहनू। अर्को दशैँमा चाहिँ—”
आवाज रोकियो।छोराको हाँसिरहेको अनुहार स्क्रिनमै जम्यो।
“हेलो? बाबु?”
केही क्षणपछि मोबाइलमा देखियो—
मनमायाले मोबाइल झ्यालछेउ लगिन्। आँगनसम्म पुगिन्। राउटर बन्द गरेर फेरि खोलिन्।
नेट आएन।अन्ततः इन्टरनेट सेवा केन्द्रमा गुनासो टिपाइन्।
केहीबेरपछि ढोकामा आवाज आयो—
“आमा, इन्टरनेट बिग्रिएको यहीँ हो?”
हातमा औजारको झोला बोकेको युवक उभिएको थियो।
आज पनि काम?”
ऊ मुस्कुरायो।“अरूको नेटवर्क बिग्रिए हाम्रो बिदा बिग्रिन्छ, आमा।”
उसले लाइन जाँच्यो। राउटर खोल्यो। तार मिलाउन थाल्यो।
मनमायाको आँखा भने उसको खाली निधारमा अडियो।
“टीका लगाइनौ?”
“भ्याइएन।”
“घर कहाँ?”
“बाजुरा।”“आमा उतै?”
उसको हात एकछिन रोकियो।
“हजुर।”“फोन गर्नुभयो?”
“बिहानै।”“के भन्नुभयो?”
युवकले तारतिरै हेर्दै भन्यो—
“निधार खाली नराखेस् रे।”
मनमायाको दृष्टि टीकाको थालीतिर सर्यो।केही मिनेटपछि युवक उठ्यो।
ऊ झोला बोकेर निस्कन लाग्यो।
“एकछिन बस।”
“अर्को घरमा पनि जानु छ।”
मनमायाले पिर्का सारिन्।
“एक मिनेटले कसैको नेटवर्क बन्द हुँदैन।”
युवक चुपचाप बस्यो।
मनमायाले टीका टिपिन्।
“आमाको हात सम्झेर थाप।”
उसले टाउको निहुरायो।
टीका निधारमा बस्यो। जमरा कानमाथि अडियो।
युवक केहीबेर उठेन।ओठ चल्यो—
“आमा…”त्यत्तिकैमा मोबाइल बज्यो।
फेरि अस्ट्रेलियाबाट भिडियो कल।
“आमा! अहिले नेट आयो?”
“आयो बाबु।”
छोराले स्क्रिनबाट पछाडि हेर्दै सोध्यो—
“त्यो को हो?”
युवक ढोकासम्म पुगिसकेको थियो। निधारको रातो टीका घाममा टल्किरहेको थियो।
मनमायाले भनिन्—“नेटवर्क जोड्न आएको बाबु।”
छोरो हाँस्यो।“अब राम्रोसँग चल्छ त?”
ढोकामा पुगेको युवक एकपटक फर्कियो। हात जोड्यो।
मनमायाले पनि हात उठाइन्।
अनि स्क्रिनतिर फर्केर भनिन्—
“हो बाबु, आज बल्ल नेटवर्क जोडियो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परदेशीको दशैँ

समर भण्डारी गोलबजार ३,जम्दह ऊफ !यसपालि पनि दशैँमा घर जान नपाइने भो। परदेशको ठाउँ के…

17 hours ago

“चेतनाको विजय”

योगी नारायण नाथ सुन्दर कञ्चन कोलोनी  इटहरी १, सुनसरी के केवल काँस फुल्नु नै दशैँ…

2 days ago

“दसैँ खास लायो”

  रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी आकाशकाे बादलु नि भाग्याे पर पर शरदले…

2 days ago

“दसैँको पिङ”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ पोहोर सालका घुर्रा पिर्का अहिले कता छन् पिङ खेलौँला भनेको त…

2 days ago

“खोइ !”

हरिशरण ढुङ्गाना दसैं आयो तिहार आयो नाना किन्या खै बिदा भयो घरै छु म मिठो…

3 days ago

दशैँ, खबर ल्याऊ है

अन्जु चालिसे रुपान्जली तिमी आउँदैछौ रे, गाउँका गोरेटो हुँदै, पहाडमा घाम छर्दै, कसैको आँगनमा खुसी,…

3 days ago