समर भण्डारी
गोलबजार ३,जम्दह
ऊफ !यसपालि पनि दशैँमा घर जान नपाइने भो। परदेशको ठाउँ के गर्ने पोहोर पनि यस्तै भयो। घरमा सबैले बाटो हेरिरा होलान।फूलपातीको दिन दोहाको एउटा साँघुरो कोठामा नरेन्द्र मोबाइलको पर्दाभित्र गाउँ खोजिरहेको थियो।
फोन आयो।“बाबु, यसपालि त आउँछस् नि ?” आमाको स्वरमा प्रश्नभन्दा बढी प्रतीक्षा थियो। नरेन्द्रले ऋणको किस्ता, भाइबहिनीको पढाइ र घरखर्चको हिसाब सम्झियो।
“आमा, यो पल्ट आउन पाउदिनँ अर्को साल पक्का आउँछु। यसपालि कम्पनीले विदा पनि दिएन।”
छोरोको कुरोले आमा एकछिन निःशब्द हुनुभो अनि भन्नुभयो, “वर्ष दिनको चाड सबैसँगै बसेर मनाउँला, रमाइलो गरुँला के गर्ने परदेशको ठाउँ भनेजस्तो नहुँदो रहेछ। यसपल्ट पनि खल्लो हुने भो दशैँ। हुन्छ बाबु, आफ्नो ख्याल राख्नू।” आमाको छाती भारी भयो अनि दुबै आँखा रसाए।
फोन काटियो।नरेन्द्र आफू घर जान नपाए पनि दशैँ खर्च घर पठायो। साँझ बहिनीले टीका लगाएको तस्बिर पठाई। बाको निधार रातो थियो, आमाको ओठमा मुस्कान। थालीमा भने एउटा टीका र जमरा छुट्टै राखिएको थियो।
नरेन्द्रले तस्बिरमा औँला राख्यो। आँखाबाट खसेको आँसु मोबाइलको स्क्रिनमा फैलियो। उसले लेख्यो— “आमा, मेरो भागको टीका लगाइदिनू है।”आमाको जवाफ आयो— “टीका त राखिदिएकी छु बाबु, तर यी हातले तिम्रो निधार खोजिरहेको छ। नरेन्द्र निःशब्द भयो।उसले जीवनभर घरको खुसीका लागि कमाइरह्यो, तर घरको खुसीमै सहभागी हुन सकेन। उसको पैसाले आँगन रङ्गियो, चुलो बल्यो, ऋण घट्यो; तर आमाको प्रतीक्षाको समय घटेन।
भोलिपल्ट काममा जाँदा उसले मोबाइलको स्क्रिनमा सुकिसकेको आँसुको दाग देख्यो। यस वर्ष पनि नरेन्द्रले घरमा दसैँ पठायो, तर आफ्नो निधार पठाउन सकेन।
योगी नारायण नाथ सुन्दर कञ्चन कोलोनी इटहरी १, सुनसरी के केवल काँस फुल्नु नै दशैँ…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी आकाशकाे बादलु नि भाग्याे पर पर शरदले…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ पोहोर सालका घुर्रा पिर्का अहिले कता छन् पिङ खेलौँला भनेको त…
अन्जु चालिसे रुपान्जली तिमी आउँदैछौ रे, गाउँका गोरेटो हुँदै, पहाडमा घाम छर्दै, कसैको आँगनमा खुसी,…