अजित आचार्य
व्यास-९ कलेस्ती,तनहुँ
हाल-मातातीर्थ,काठमाडौं
“तिमीलाई कति जनाले छोएर गए ? मलाई त सानो देखेर होला सबैले उचाल्दै राख्दै गरिराखेका छन्।“
टेबलको छेऊमा राखिएको पातलो कथासङ्ग्रहको पुस्तकले बाक्लो कडा मुखपृष्ठ भएको उपन्यासलाई सोध्यो।उपन्यासको जवाफ आउन नपाउँदै परतिर राखिएको मोटो ईतिहासको ठेलीले सुस्तरी बोल्यो – “यार! मलाई त कसैले हेर्दै हेर्दैनन्। किन हो मान्छेहरू ईतिहासलाई फर्केर पनि हेर्न नचाहेका ?“
“मलाई त आएर छुन्छन्। बिचैमा पल्टाएर १-२ अनुच्छेद पढे झै गर्छन्, अनि त्यसै छाडेर हिड्छन्। अहिलेका मानिसमा धैर्यता नै छैन।“ उपन्यासको पुस्तकले आफ्नो अनुभव बतायो।
“नपढ्ने भए किन हामीलाई यसरी ह्वारह्वार्ती जन्माएका ? किन खर्च गरेर छापेका होलान है ।“ कविता सङ्ग्रहले उसैगरी सँगैको टेबलमा राखिएका पुस्तकहरूसँग दुखेसो पोख्यो।
“हामीलाई जन्माउन हाम्रा लेखकले कति मेहनत गरेकाछन्। प्रकाशकले काँटछाँट गरेर चिटिक्क पारेका छन्। हामीभित्रको शब्दहरू कति ओजिला छन्। तर मानिसहरू बाहिरी रुपरङ्ग हेरेर जान्छन्। भित्री अन्तर्यसम्म पुग्नै सक्दैनन्।“ दर्शन र सिद्धान्तको पुस्तकले एकै स्वरमा आफ्नो पिडा पोखे।
“मलाई त मान्छेहरू खुव मन पराउँछन्। लुकिलुकि आएर पल्टाउँछन्। मेरा कति साथी पुस्तकका प्रतिहरूलाई किनेर लगिसके। अहिलेको बजार त हाम्रो पो रहेछ।“ मुसुमुसु हाँस्दै अलिअलि धाक लगाए जसरी यौन कथा सङ्ग्रहको पुस्तक बोल्यो।
“भाइ हो ! अब हाम्रा दिन गए जस्तो छ। मानिसहरू प्रविधिमैत्री बनिरहेका छन्। अब हामीमाथि लेखिएका अनुच्छेदहरू पढ्ने फुर्सद मानिसहरूमा छैन। अब त खररर बोल्ने डिजिटल प्रविधिका पुस्तकहरू जन्मिसके। तिनीहरूप्रति मानिसको आकर्षण दिनदिनै बढ्दै गएको छ।“ विज्ञानको पुस्तकले सबैलाई सचेत गराउँदै वास्तविकता बोल्यो।
“ओई ! सुमित !! आइज। हामी गयौँ ।”
सुमित अघिदेखि प्रदर्शनीमा राखिएका पुस्तकहरूलाई एकोहोरो हेरिरहेको थियो। उसको अन्तरमनले यसरी पुस्तकहरूसँग सम्वाद गरिरहेको रहेछ। परबाट साथीहरूले बोलाएको सुनेर ऊ झसङ्ग हुँदै हजुर आएँ भन्दै त्यहाँबाट हिड्यो।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…