
राज कुमार कार्की
कटारी-१,उदयपुर
“सुभद्रा अभिमन्यु कहाँ छ ?”,हतासमा देखिएका अर्जुनले हातको गान्डिव जोडसँग समाउँदै भने।
आफ्नो सयन कक्षमा आराम गरिरहेकी सुभद्रा झस्क्ँदै ,”किन के गर्यो र अभिमन्युले ?”
“केवल जन्माएर मात्र आमा हुन्न सुभद्रा उसको उचित ख्याल र संस्कार दिन नि जान्नुपर्छ ।”,अर्जुन एकोहोरो आफ्नै सुरमा भुतभुताइ रहे।
अर्जुन युद्ध मैदानबाट मध्यान्हमै फर्किनु। अभिमन्यु घरमा नहुनु। कतै युद्ध मैदानमा अभिमन्यु…।
“नाथ! कहाँ छ हाम्रो अभिमन्यू ?”मलिन स्वरमा सुभद्रा सोध्छिन्।
“त्यही त तिमीलाई सोध्दै छु ;कहाँ छ छोरो?”
एकाएक द्वारपाल ठूलो स्वरमा,महाराज !”हाम्रो अभिमन्यू बाबुले चक्रब्यूह तोडेर सासकहरूको सातो खाइरहनु भएको छ ।”,भन्दै खबर सुनाएर बाहिरिन्छ।
“अर्जुन रिसाउँदै यो सब तिमीले पुल्पुल्याएरको परिणाम हो।”
हठात खुसी हुँदै सुभद्रा भन्छिन् ,”धन्य! हो मेरो कोख जसले एक पराक्रमी पुत्रलाई जन्म दियो।”
सुभद्राको ताल देखेर आजित अर्जुन ,”अब जसरी पनि म युद्ध मैदानमा जानुपर्छ नत्र अनिष्ट हुन सक्छ।”,भन्दै बाहिरिन के आँटेका थिए द्वारपाल रुँदै आयो,” महाराज हाम्रा बालक अभिमन्युले वीर गति प्राप्त गरे।”
अर्जुन शोक र आवेगमा एकैचोटि म्यानबाट तरवार निकालेर गर्जिए ,”पापी हो बालक मार्यौ। अब तिमीहरूलाई म छोड्दिन।” ,भन्दै कुरुक्षेत्रतिर हिँड्न आँटेका अर्जुनलाई रोक्दै सुभद्रा भन्छिन् ,”अब कुरुक्षेत्र होइन नेपाल जानुस्; तरबार होइन युवाको भरोसा लिएर जानुस।”





