Categories: बाल कथा

मध्यरातको त्यो सर्प


इन्दु उपाध्याय
विश्वनाथ, असम

रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा थिए। अचानक गोपालको निद्रा खुल्यो। घाँटी सुकिरहेको थियो। निद्राकै सुरमा पानीको गिलासतिर हात बढाउँदा गिलास भुइँमा खस्यो—द्राङ्ग्ग्ग! काँच फुटेको त्यो आवाजले रातको निस्तब्धता चिरेर कोठाभरि अनौठो कम्पन फैलायो। गोपाल झसङ्ग भयो। उसलाई एकाएक लाग्यो—कतै यो साधारण आवाज त होइन? पल्लो खाटमा आमा गहिरो निद्रामा हुनुहुन्थ्यो। तर केही क्षणअघि शान्त रहेको घर अब उसलाई अपरिचित र रहस्यमय लाग्न थाल्यो। भुइँमा छरिएका काँचका टुक्रा मधुरो उज्यालोमा चम्किरहेका थिए, मानौँ कुनै अदृश्य आँखाले उसलाई हेरिरहेका हुन्।
घाँटीको तिर्खा र वासरुम जाने आवश्यकताले ऊ डर दबाउँदै बार्दलीतिर बढ्यो। ढोका खोल्नेबित्तिकै उसको पाइला रोकियो। बार्दलीको कुनामा एउटा लामो, कालो आकृति निश्चल तेर्सिएको थियो। केही क्षण उसले सास रोक्यो। भर्खरै फुटेको गिलासको आवाज, सुनसान रात र त्यो रहस्यमय आकृति—सबै कुरा जोडिँदै जाँदा उसको मनले भयावह कथा बुन्न थाल्यो। उसले आँखा मिच्यो। आकृति त्यहीँ थियो। फेरि अलिकति हल्लिएजस्तो लाग्यो।
“सर्प!” उसको मुखबाट अनायास निस्कियो।
मुटु ढुकढुक गर्न थाल्यो। ऊ पछाडि हट्यो। “कतै भूतप्रेतको छायाँ त होइन?” एकछिनअघि फुटेको गिलासको आवाज पनि उसलाई अब त्यही अदृश्य उपस्थितिको संकेतजस्तो लाग्यो। अन्ततः ऊ आमालाई झक्झकाउँदै चिच्यायो, “आमा! सर्प! बाहिर सर्प छ!”
आमा हतारिँदै उठ्नुभयो। दुवै बार्दलीमा पुगे। गोपालले काँप्दै औँला तेर्स्यायो—“त्यहीँ!” आमाले हेर्नुभयो, तर अँध्यारोमा केही स्पष्ट देख्नुभएन। “लाइट बाल्,” उहाँले भन्नुभयो। गोपाल डराउँदै बत्ती बाल्न पुग्यो। उज्यालो फैलियो। दुवैका आँखा त्यही कुनामा पुगे। सर्प थिएन। भूतको छायाँ पनि थिएन।
त्यहाँ त साइकलको एउटा पुरानो कालो ट्युब मात्र थियो।
आमाले ट्युब उठाउँदै हाँस्नुभयो, “दिउँसो पञ्चर फुकाएर यहीँ राखेकी थिएँ!”
गोपाल निःशब्द भयो। भर्खरै उसलाई मृत्युको दूतजस्तो लागेको ट्युब अब निर्जीव र हास्यास्पद देखिन्थ्यो। उसले फुटेको गिलासतिर हेरेर गोपाल मुसुक्क हाँस्यो। तर मनभित्र एउटा कुरा गडेर बस्यो—रातको अँध्यारोमा सर्पभन्दा खतरनाक हुँदो रहेछ आफ्नै कल्पना; अनि कहिलेकाहीँ एउटा सानो आवाजले पनि मनभित्र पूरा भूत जन्माइदिँदो रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago