“मोबाइल हेर्ने बानीले”


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

मोबाइल हेर्ने बानीले
दिक्कै पारिन् नानीले

किताब पढ्न हुन्न र ?
कापी पढ्न हुन्न र ?
बाबासँग सोधेर
हिसाब गर्न हुन्न र ?
भन्छिन् दिदी ज्ञानीले
दिक्कै पारिन् नानीले

खाजा खान बिर्सिन्छिन्
भातै खान बिर्सिन्छिन्
उस्तै परे कुनै दिन
स्कुल जान बिर्सिन्छिन्
भन्छिन् सैनी सानीले
दिक्कै पारिन् नानीले

तिमी ठुली भएर
जान्ने सुन्ने भएर
मोबाइल हेरे हुन्न र ?
फुर्सदमा रहेर
भन्दा भन्दै हामीले
दिक्कै पारिन् नानीले ।