
युगल बसेल
सन्धिखर्क, तुम्कोट
वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर
छैन बस्ने घर ठेगाना, छैन मेरो ठहर।
आफ्नो घर बनाउँदिनंँ अर्काको बिगार्छु
मकै ,फलफुल आलु गिठा पाए सखाप पार्छु।
किसानको दुश्मन हुँ म, इष्ट खोई कसको ?
मेरो चर्तीकला रोक्ने कुरा छैन वशको।
मेरा पुर्खा हनुमान हुन् रनबन डुल्छु
मान्छे ताक्छन् गुलेली, म मट्याङ्ग्रालाई छल्छु।
तिमी डाली पातपातमा म, ए मान्छे बिचरा!
भाग्यमानी प्राणी मै हुँ, तिमी कर्महारा!
धन्यवाद छ सरकारलाई मलाई माया गरोस्
मेरो भुँडी चर्किरहोस् किसान भोकै मरोस्।
छाती पिटोस ,आँसु झारोस् बिन्ती निउरी गरोस्
सरकार, आँखा कान थुनोस् मेरे लाद्रो भरोस्।





