राष्ट्रमा कान्ति छाओस्


शोभा कोइराला

धन र मन भएका आउँदैछन् सशक्त
पछि अघि पछि गर्दै मर्न लाग्दैछ भक्त
अब त समय आयो काँचुली फेर्नलाई
शुभ शुभ शुभ होओस् आउँने वर्ष छाई।

कति कति कति जालो नेत्रमा छन् बसेका
रगत र पसिनाको मुल्य तोक्छन् सडेका
कुडमल बिचराले फुल्न खोज्दैछ आज
त्यसतिर मति जाओस् दिव्य होओस् समाज।

अटल छवि बनाऊन् शुद्ध होस् योग्य हत्ता
मिहिन मिहिन होऊन् धीरतासाथ सत्ता
प्रतिपल बिपनाले झक्झकाओस् परीक्षा
प्रियवर सब होऊन् नव्य होओस् समीक्षा।

दिनकर रजनीझैँ नित्य होस् रीति साथ
कतिपनि नघटाऊन् वेगवान् नीति खास
अनियमित नहोस् यो राज्यको कामकाज
नियमित फलदायी हर्षको होस् जमात।

परिणति शुभदायी विश्वले लेख्न पाओस्!
मधुवन तब राम्रो देशले देख्न पाओस्
सफलित फल जस्तै योग्यता सर्व आओस्
विविध विविधताले राष्ट्रमा कान्ति छाओस्।