“लाेक बाजा बिनायाे”


इन्दिरा प्रयास

विविध विविधता नै मैलियाे आजभोलि
किन किन युवतीले बिर्सिए मिष्ठबाेली
विकृति पनि बढेरै सभ्यता झन्झनायाे
मुुलुकभरि हरायो लोक बाजा बिनायो!!

तरहतरह खाजा पेय छन् झन् अनेक
अपरिचित भएका गीत छन् एकएक
परमुलुक पुगेछन् दिव्य तस्बीर आयाे
मुुलुकभरि हरायो लोक बाजा बिनायो!!

कुसुमितपन छैनन् छैन सङ्गीत बुझ्ने
विरह विटप लाग्छन् शब्द केही नबुझ्ने
सकल नजर झन् झन् तिक्त संस्कार छायो
मुलुकभरि हरायो लाेक बाजा बिनायाे!!

रसिक मनहरू छन् कुञ्जमा नै रमेका
मधुर मधुर गाना बुझ्नलाई झुमेका
प्रकृतिमय कहाँ छन् आज बेग्लै गरायो
मुलुकभरि हरायो लाेक बाजा बिनायाे!!

अब अति हुन लाग्यो राेक्न लागाैं मिलेर
अलिकति रसिलाे हाेस् नाच्न थालून् बुझेर
प्रमुदित मन दुख्ने गीत जाे हिन्हिनायाे
मुलुकभरि हरायो लाेक बाजा बिनायाे!!