
बलराम दंगाल
रत्ननगर,चितवन
हाल-अष्ट्रेलिया
माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई।
घाम चर्किँदै जाँदा गिट्टीका थुप्रा बढ्दै गए, तर मायाका हात भारी हुँदै गए। हरेक चोटसँगै उसका औँला दुख्थे। कहिलेकाहीँ हतौडा राखेर हात मोल्थी, अनि फेरि उठाउँथी।
केही बेरपछि उसले आमातिर हेर्दै भनी, “आमा, म पनि स्कुल जान्छु नि ?”
आमाले छोरीको धुलाम्मे हाततिर हेर्दै बिस्तारै भनिन्, “जालिस… कुनै दिन।” तर त्यो दिन भने थाहा थिएन उनलाई।
“कहिले आमा ?”
आमाले जवाफ दिइनन्। उनको नजर मायाको हातमा रहेको हतौडामै अडियो।
त्यही बेला माथिल्लो सडकमा बाजागाजासहित “बाल दिवस-जिन्दावाद।” “बालअधिकार—जिन्दावाद !”
नारा गुञ्जियो। मान्छेहरू अघि बढे। आवाज पनि बिस्तारै टाढिँदै गयो।
माया फेरि गिट्टीतिर झुकी।
ठक्… ठक्…
उता सडकमा खसेको एउटा पर्चा हावाले उडाउँदै मायाको छेउमा ल्याइपुर्यायो।
लेखिएको थियो— “कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस्।”





