
महेन्द्र न्यौपाने
उनी स्वाट्टै छोराको कोठामा पसिन् । ऊ एकनाशले मोबाइलमा घोप्टिएको थियो । आमा पसेको पनि उसले चाल पाएन । उनले भनिन् ,“बाबु बैठक कोठाको चिम जलेको रहेछ।”
ऊ चटपटाएन। उनी एकछिन त्यसै उभिइन्। जब छोराबाट कुनै प्रतिक्रिया आएन, उनी आफ्नो काममा लागिन्।अँध्यारो बढ्दै गयो अनि छोराले पनि झल्यास सम्झियो। ऊ आमालाई खोज्दै भान्सामा पुग्यो। आमा त्यहाँ खाना बनाउन लागेकी थिइन्। उसले आमालाई सोध्यो, “ममी, कुन कोठाको चिम रे ?”
“बैठक कोठाको,” उनले तरकारी काट्दै बताइन्।
“अनि चिम कहाँ छ?” ऊ भान्साको ढोकामा उभिएर सोध्यो।
“बुवाको कोठाको दराजमाथि,” आमाले बताइन्।
ऊ फनक्क फर्केर बुवाको कोठामा गयो। कुर्सी तानेर चढ्यो र दराजमाथिको नयाँ चिमको डिब्बा निकाल्यो। “ममी ! यहाँ त चिम छैन, डिब्बा खाली छ ।” ऊ त्यहीँबाट चिच्यायो।
“हो, छाडि दे ।” आमाले पनि कराएर भनिन्।
ऊ दौडेर भान्साको ढोकामा आएर निन्याउरो भएर भन्यो, “के अब मैले किन्न बजार जानु पर्ने ?”
“पर्दैन। ” आमाले तरकारी चलाउँदै भनिन्।
“किन?” उसले प्रश्न गर्यो।
“मैले फेरिसकेँ ।” उनले भनिन्।
“अनि फेरि किन मलाई भनेको त?” ऊ छक्क पर्दै सोध्यो।
उनले हातको डाडु राखेर मुस्कुराउँदै भनिन्, “ मैले तँलाई चिम फेर्न भनेको हो र ?”





