“शारदी चाड”


मोहन प्र घिमिरे
शान्तिनगर, सिद्धिचरण मार्ग, बानेश्वर

उनिन्छ माला छ सियो र धागो
छन् पुष्प ताजा र सुबासनाको
सजाइने गेह र झ्याल ढोका
सर्वत्र पारीकन शुद्ध चोखा।

तिहार आयो मन यो रमायो
जताततै दीपक झल्मलायो
बास्ना चले सेल तथा अनर्सा
घरैघरै बन्दछ मिष्ठ अर्सा।

गाइन्छ भैली युवती मिलेर
देउसी नगुञ्जे त तिहार के र
धोएर भित्री दुखका तराना
मिष्ठान्नका भोजन बन्छ नाना।

हतारमा छिन् बहिनी दिदी ती
भेट्ने भनेरै सब दाजु भाइ
लामो रहोस् जीवन माइतीको
चेली सदा चिन्तन गर्दछिन् यो।

लक्ष्मी पुजी धूप सुगन्ध छर्छन्
आराधना श्री खुस पार्न गर्छन्
यो चाडको रौनक हो उज्यालो
नहोस् कसैको मन भित्र कालो।

उल्लास होओस् सब गेह भित्र
आनन्द होओस् सब देह भित्र
दीपावली,म्हः, छठ सम्झना छ
यी चाडको यो शुभकामना छ।