विश्व श्रमिक दिवसको हार्दिक शुभकामना

देव भट्टराई
छन्द: मालिनी
परिश्रम पसिनाले विश्वलाई सिँगारी ।
वरिपरि भवलाई पार्दछन् फूलबारी ।।
निशिदिन श्रम बाँडी पाखुरी ती बजारी ।
श्रमिक मृदुल साँचो सर्वदा हाँस्छ हारी ।।
प्रसव कति छ पीडा फुर्सदै छैन सोच्ने ।
समय न त छ हेर्ने घाउ पोल्ने र घोच्ने ।।
अविचलित सदा ऊ कर्ममा नित्य व्यस्त ।
अनुभव अति धेरै कार्यमा दक्ष पोख्त ।।
नियमित छ झरी वा भन्छ आगो न पानी ।
अलि परपर राखी जिन्दगानी जवानी ।।
मधुरमय सुनौलो हुन्छ ठानी भविष्य ।
अनुपम मृदु मानौं सौम्य शालीन शिष्य ।।
अतिशय श्रम धेरै मूल्य थोरै उसैको ।
प्रचलित भनिटार्छन् छैन आशा कसैको ।।
कति दिन कुरिबस्ने झर्छ खाऊँ भनेर ?
पिलपिल नभका ती जूनतारा गनेर ।।
दुरदुर गरिहेप्छन् देह देखी नराम्रो ।
अझ किन बदलिन्नन् क्षुद्र संस्कार हाम्रो ?
मधुमय पसिनाकै मान सम्मान छैन ।
सितिमिति खुकुरीको धार धर्मी हुँदैन ।।
नुन सुन हुनलाई सीप चाहिन्छ ज्ञान ।
सुनसरि श्रमले नै बन्छ हीरा फलाम ।।
प्रबल प्रगति के होस् ? जाप धेरै जपेर ।
श्रम र श्रमिकलाई आँसु मात्रै थपेर ।।
उठ न श्रमिक साथी तीव्र आवाज भर्न ।
जुट न जुट असाध्यै काम बाँकी छ गर्न ।।
मुखरित भइजागौ फेर्न कानून कालो ।
सुख र सुदिन आऊन् ज्योति भर्दै उज्यालो ।।





