“संस्कृति”


घनश्याम रेग्मी

हाम्रा बराजु जिजुले वर बोट रोप्थे
बाटो सपार्न र सुधार्न भनेर जुट्थे
गाई र ब्राह्मण पुजी रुख रोप भन्थे
प्रातः उठेर ध्वनि शङ्ख फुकेर गर्थे।

भान्सा पसेर दुध भात मुछेर खान्थे
बेकारका फजुल खर्च नगर्न भन्थे
हामी भयौँ सब यता न उता कता हो
बाटो हराउन पुगेछ अहो कता हो।

बासी नखान भनियो मद मांश छोड
सोही कुरा अब त खान अहो ! छ होड
सोचौँ सबै जन विचार कता हरायो
हामी थियौँ अघि सही कि विचार आयो।

धोक्ने यतातिर सबै जन लाउके छन्
फोर्ने बिटोल्न सहजै सब टाउके छन्
भागेर बाहिर गएर लुके कि स्रष्टा
नेता भएन गतिलो किन स्वप्न द्रष्टा।

संस्कार संस्कृति बचेपछि देश बन्छ
संस्कार जीवित रहे पथ अग्र खन्छ
लौ ज्योति बाल युग हाँक्न छ फेरि जाग
संस्कार थाम्न सबले जुट साथ लाग।