Categories: कविता

“सत्सङ्गको महिमा”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : शार्दूलविक्रीडित

सुन्ने ज्ञान , अनेक शास्त्र मत को , सन्धान सत्सङ्ग हो
गर्ने ध्यान विशेष योग – विधि को , विज्ञान सत्सङ्ग हो
राम्रा ग्रन्थ पढी विचार सुकिला , गर्ने कुरा हो यही
आफ्नो जीवन मा कला चहकिला , भर्ने कुरा हो यही।

सत् को सङ्ग गरेर कर्म पथ मा , जो बढ्छ सत्सङ्ग हो
सत् को साथ रहेर धर्म – रथ मा , जो चढ्छ सत्सङ्ग हो
सन्मार्गी जन पुग्दछन् सहज मै , दुर्गम्य गन्तव्य मा
सत्सेवी जन पस्दछन् अति छिटो , आदर्श को कक्ष मा।

जोधा ज्येष्ठ वरिष्ठ शान्त जन को , सामीप्य सत्सङ्ग हो
सच्चा श्रेष्ठ विशिष्ट सन्त मन को , सान्निध्य सत्सङ्ग हो
सत्सङ्गी व्यवहार ले हृदय का , पीडा – व्यथा हट्दछन्
यो सत्सङ्ग गरेर आत्मधन का , जायज्यथा बढ्दछन्।

पानी – भोजन देह मा बल दिने , हुन् खाद्य आवश्यक
उस्तै हो मल – चित्त निर्मल हुने , सत्सङ्ग आवश्यक
सारा जीवन शुद्ध बुद्ध हुन मा , चाहिन्छ सत्सङ्ग नै
भित्री दोष पखाल्न पाप धुन मा , चाहिन्छ सत्सङ्ग नै।

जे ले मानवता उकास्छ सहजै , त्यो कार्य सत्सङ्ग हो
जे ले दानवता निमास्छ सजिलै , त्यो कार्य सत्सङ्ग हो
सत्सङ्गी जन बुद्धि ले दृढ बनी , झन् शक्तिमान् बन्दछ
आफ्नो कर्म स्वधर्म मा रत रही ,सद् भक्तिमान् बन्दछ।

हो सत्सङ्ग मनोचिकित्सक महान् ,यो आज को विश्व मा
हो सत्सङ्ग सदा सुधारक महान् , यो आज को विश्व मा
सत् को सङ्ग गरेर दुर्जनहरू , हुन्छन् यहाँ सज्जन
सत् कै रङ्ग भरेर निर्धनहरू , भेट्छन् सदा सद्धन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

15 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

16 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

16 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago