विदुर अधिकारी
रामपुर,चितवन
छन्द-इन्द्रवज्रा
झर्ना धरामाझ सुसेल्न लागे
डाँफे चरी नाच्न भनेर जागे
बर्खा हटी पर्व सुरम्य छायो
सद्भाव बोकेर तिहार आयो
ती कोइलीले, मृदुकण्ठ पारी
झन् गाउँदा,रम्य बन्यो छहारी
सङ्गीतले भूमि अझै रमायो
सद्भाव बोकेर तिहार आयो
जाई, हजारी, करवीरलाई
टिप्दै लगे फूल समस्त आई
माला बुनेको, अति नै सुहायो
सद्भाव बोकेर तिहार आयो
बैनी टिको लाउन आउँदैछिन्
यो चाडको मर्म सुनाउँदैछिन्
भन्छिन् विहेको पल सल्बलायो
सद्भाव बोकेर तिहार आयो
यो पर्वको वर्णन गर्नलाई
को सक्छ होला भवमाझ आई
उद्भावले दिव्य गरा सजायो
सद्भाव बोकेर तिहार आयो।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…