स्याउको महिमा


रोजिना घिमिरे

हिमाली काखमा शीतलताको स्पर्श बोकेर हुर्केको स्याउ! यो केवल एउटा फल होइन, यो त प्रकृतिले रचेको एउटा अनुपम काव्य हो। रातो, हरियो वा हल्का पहेँलो रङ्गमा सजिएको स्याउलाई जब हत्केलामा लिइन्छ, तब लाग्छ, हामीले स्वर्गको एउटा सानो टुक्रा समातेका छौँ।
स्याउको अस्तित्व केवल स्वादमा सीमित छैन। यो त अनेकौँ कथा, मिथक र विश्वासहरूको प्रतीक बनेर युगौँदेखि मानिसको मन र साहित्यमा अङ्कित छ। इसाई धर्मको किंवदन्तीमा ‘ज्ञानको फल’को रूपमा स्याउले मानव इतिहासको दिशा बदलिदियो, जसले ‘पाप’ र ‘ज्ञान’को द्वार खोल्यो। ग्रीक मिथकहरूमा सुनौलो स्याउले सौन्दर्य र प्रतिद्वन्द्वको कथा बुन्यो भने, सर आइज्याक न्यूटनको टाउकोमा खसेको स्याउले गुरुत्वाकर्षणको रहस्य उद्घाटित गर्यो, विज्ञानको दुनियाँमा क्रान्ति ल्यायो।


नेपालको सन्दर्भमा, स्याउको नाम लिनासाथ जुम्ला, मुस्ताङ र मनाङका अग्ला डाँडाहरू मानविय आँखामा झल्किन्छन्। ती विकट भूगोलमा पाकेका स्याउहरू चिसो हावा र स्वच्छ घामको वरदानले भरिएका हुन्छन्। एकै पटक हेर्दा लाग्छ, प्रकृतिको कलात्मक हातले हरेक फललाई धैर्य र मिहिनेतका साथ रङ्गाएको छ। ती किसानहरूको जीवनगाथा कति सरल र शालीन छ, जो वर्षभरि आफ्ना बगैँचाको स्याहार-सुसारमा लीन रहन्छन्, अनि शरद ऋतुमा आफ्ना सन्तान सरहका मीठा फलहरू संसारलाई बाँड्न पाउँदा सन्तोषको सास फेर्छन्।
स्याउको स्वादमा एउटा अलग्गै मिठास हुन्छ, जो अन्य कुनै फलमा पाइँदैन। त्यो मिठास हो – परिश्रमको स्वाद, धरातलीय इमान्दारिताको स्वाद। जब हामी एउटा क्रिस्प (crisp) स्याउ टोक्छौं, तब मुखभित्र जुन मीठो ध्वनी गुञ्जिन्छ, त्यो ध्वनीले जीवनको सङ्गीत सुनाउँछ, जसमा स्वस्थता र ऊर्जाको ताल मिसिएको हुन्छ। ‘एउटा स्याउ दैनिक खाँदा डाक्टरबाट टाढा रहन सकिन्छ’ भन्ने उक्तिले यसको महत्तालाई अझ प्रष्ट पार्छ।
यसरी, स्याउ केवल एउटा खाद्य वस्तु होइन, यो त प्रकृति र सभ्यताको अटुट सम्बन्धको सेतु हो। यो ज्ञानको स्रोत हो, स्वास्थ्यको प्रतीक हो, र हिमाली किसानहरूको आशा र समृद्धिको सपना पनि हो। स्याउको बगैँचामा फुलेका फूलहरूले जीवनको सुन्दरताको घोषणा गर्छन् भने, पाकेका फलहरूले सफलताको मिठो प्रतिफलको कथा सुनाउँछन्। स्याउको यही महिमा र अर्थपूर्णताले यसलाई साहित्यिक जगत्‌मा सधैँ आदरणीय स्थान दिएको छ।