दलबाहादुर शाही
जहाँ पुगून् ती गरेर छोड्छन् सुकर्म गर्ने डराउँदैनन्
सशक्त खट्छन् सबै कुरामा कदापि तिघ्रा कमाउँदैनन्
सधैँ अरूको लुटेर आफू कमाउँदैनन् सुकर्म गर्छन्
गरीब हुन् वा धनी धराभित्र स्वावलम्बी भएर बाँच्छन्।
भविष्यमा के हुने छ आफ्नो बुझेर गर्छन् हरेक काम
स्वयं जगत्मा चिनाइदिन्छन् यही धराको सदैव नाम
कमाइ गर्छन् जहाँ पठाऊ निकै खुसीले खुलेर हाँस्छन्
गरीब हुन् वा धनी धराभित्र स्वावलम्बी भएर बाँच्छन्।
धनी हुने नै भए नि इच्छा लुटेर खाने कला हुँदैन
स्वभाव साह्रै भएर सोझो ठगेर हिँड्ने कला हुँदैन
सदैव आफ्नै अडानमा यी अनेक पेसा गरेर खान्छन्
गरीब हुन् वा धनी धराभित्र स्वावलम्बी भएर बाँच्छन्।
विकास गर्ने लिई इरादा अगाडि बढ्छन् यिनै धरामा
विरोध गर्ने सबै यिनै हुन् समाज सारा समृद्ध राख्न
हुँदैन गल्ती कुनै त्यसैले सगर्भ माथा उठाइहिँड्छन्
गरीब हुन् वा धनी धराभित्र स्वावलम्बी भएर बाँच्छन्।