
नरिश्वर गौतम
असार पन्ध्र दही र चिउरा,
साउन पन्ध्र खीर
पुसको पन्ध्र तिहारे खाजा,
माघीमा खेल्ने गीर ।।
छुपुमा छुपु धान है रोपौँ,
दबदबे हिलोमा
सबै र जना खेतमा जाऊँ है,
नगरी ढिलोमा ।।
फुर्सद छैन पकाउन खाना,
सबलाई छ हतार
जाँगर गर्ने पटुकी बाँधी,
महिना हो असार ।।
आजको दिन खाजा र अर्नि,
खाउँला नि चिउरा दही
गर्मीको बेला शीतल पार्ने,
आहा! क्या मीठो मही ।।
भएर खुशी बाउसे हली,
ब्याडे र रोपार सबैले गाउँदा
असारे भाका,
आनन्द अपार ।।
नभनौँ कोही नेपालमा बसी,
गुजारा चल्दैन नगएसम्म
मुग्लान र खाडी,
चुलो नै बल्दैन ।।
अनेक थरी फलफूल अनि,
तरकारी फल्दछ
सुनौँला बाला चैते र मार्सी
धान पनि झुल्दछ ।।
जाँगर भए छैन है गाह्रो,
पाल्नलाई जहान
मानोमा छरी मुरी है फल्ने,
धर्ती छन् महान् ।।





