
श्रीधर भण्डारी
आऊ झरी आऊ माटो गल्ने गरी ।
तिमी आएपछि अन्न फल्छ भरी ।।
आऊ झरी आऊ पङ्ख बनी आऊ ।
खुसी हुन्छौं हामी शीतलता छाऊ ।।
आऊ झरी आऊ बोटमा दाना लाग्न ।
सुक्न थाल्दाखेरि पनि बेर्ना जाग्न ।।
आऊ झरी आऊ हरियाली छाऊ ।
मनैभरि खुसी साट्दै माया पाऊ ।।
आऊ झरी आऊ जित्न हाम्रो मन ।
तिमी झर्दा जुट्छ किसानको धन ।।
आऊ झरी आऊ सबै प्राणी बाँच्न ।
खुसी भई थाल्छौँ आँगनीमा नाच्न ।।





