
प्रेमनारायण भुसाल
शैक्षिक संस्था जीवनका लागि आवश्यक ज्ञान र सिप आर्जन स्थल हुन्। नेपालको सामाजिक विविधताका कारण हरेक शैक्षिक संस्थामा फरकफरक पृष्ठभूमिका विद्यार्थी अध्ययन गर्छन्। एउटै संस्था वा क्षेत्रमा फरक सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पृष्ठभूमिका व्यक्तिको संलग्नता बहुलतामा आधारित देशको विशेषता हो। विविधताले विद्यार्थीलाई एकअर्काको संस्कृति, संस्कार र परिवेश बुझ्न सहयोग पुर्याउँछ भने विद्यालयका लागि हरेक विद्यार्थीका फरक फरक विशेषतालाई पहिचान गरी व्यवहार गर्न केही चुनौती पनि थपेको हुन्छ।
फरक पृष्ठभूमिका अभिभावकको आकाङ्क्षा भिन्न रहेजस्तै विद्यार्थी हुर्केको परिवेश पनि भिन्न भएकाले उनीहरूको आचरण र आचारमा भिन्नता पाइनु स्वाभाविक हो। विद्यालय विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गर्न सहयोगी माध्यमका रूपमा विकास हुनुपर्ने मान्यता राखे पनि हाम्रो परिवेशमा अनेक रूपमा रहेका व्यक्तिलाई एकै ठाउँमा राखी उस्तै किसिमले अनुशासन वा आचार संहितामा बाँध्ने संयन्त्रका रूपमा विद्यालय बन्ने गरेको देखिन्छ। यसले गर्दा सांस्कृतिक पहिचान र मौलिकपनलाई अभ्यास गर्न अप्ठ्यारो वा सङ्कुचित पारेको देखिन्छ।
सङ्कुचित समाजमा किशोरकिशोरी एकआपसमा अन्तरक्रिया र सहकार्य गर्नुलाई अस्वाभाविक ठानिन्छ भने उदार समाजमा यस्ता क्रियाकलापलाई सामान्य र अपरिहार्य। जेनजी सामाजिक र नैतिक बन्धनभन्दा स्वतन्त्रतामा रमाउँदै समूहमा काम गर्न रुचाउँछन्। यसैले नैतिक र सामाजिक बन्धन उनीहरूका लागि गौण विषय बन्दै गएको छ।
खासगरी १० जोड २ विद्यालय सञ्चालन गर्ने सञ्चालकहरू आफ्नो विद्यालयको साख जोगाउन अनुशासनका नाममा विद्यार्थीलाई पूर्ण नियन्त्रणमा राख्ने अभ्यास गरेका समाचार सार्वजनिक भइरहेका छन्।
शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्न विद्यालयमा आचार संहिता आवश्यक पर्छ भन्नेमा दुईमत हुन सक्दैन । विद्यार्थी बढी मर्यादित शिष्ट र अनुशासित भई सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्छ। यसले सामाजिक तथा नैतिक मूल्य मान्यतालाई सबल गर्न मात्र होइन, उनीहरूलाई समाजमा समायोजन हुन र जीवनोपयोगी सिप सिक्नका लागि समेत सहयोग पुर्याउँछ। यसो भन्दैमा पुरानो पुस्ताले जस्तै कडा नियन्त्रणमा राखे मात्र विद्यार्थी सुध्रन्छन् स्वतन्त्रता पाए भने उनीहरू उच्छृङ्खल हुन्छन् भन्ने दण्डवादी सोच राख्नु सामयिक हुन सक्दैन।
कुनै समय कडा अनुशासन र शारीरिक एवं मानसिक दण्ड दिइने परिवार र विद्यालयलाई मर्यादित र अनुशासित ठानिन्थ्यो। बालबालिकालाई उनीहरूको मौलिक सोच, चिन्तन र दृष्टिकोणभन्दा आज्ञाकारी बनाउने उद्देश्य राखिन्थ्यो। एक्काइसौं शताब्दीको शिक्षाले यस कुरालाई महत्त्व दिएको छैन, बरू विद्यार्थीमा रहेको समालोचनात्मक सिप र नयाँ तरिकालाई प्रवर्धन गर्न शिक्षा सहयोगी बन्नुपर्छ भन्ने मान्यतालाई जोड दिइएको छ।
कक्षाकोठामा धेरै विद्यार्थी भए पनि हरेकलाई समान प्रकृतिको बनाउनुभन्दा उनीहरूको मौलिक विशेषतालाई व्यवस्थित र उन्नत बनाउने अपेक्षा राखिएको छ। विद्यार्थीले कस्तो पहिरन लगाउँछ वा अतिरिक्त रूपमा के कस्ता क्रियाकलापमा संलग्नता देखाउँछ भन्नुभन्दा उसले आफ्ना विचारको प्रस्तुति कसरी गर्छ अनि सिकेका कुरालाई व्यवहारमा कसरी लागु गर्छ भन्नेमा जोड दिइन्छ।
आधुनिक शिक्षा पद्धतिको मूल विशेषता पनि संज्ञानात्मक सिकाइभन्दा व्यवहारकुशल र प्रयोगात्मक सिप आर्जन गर्नु हो। विद्यार्थी नियन्त्रित वातावरणमा रहे भने उनीहरूले घोकन्ते सिप त आर्जन गर्लान् तर मौलिक सोच, चिन्तन र आविष्कारमा पछाडि पर्ने देखिन्छन्। शिक्षण सिकाइमा शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधारलाई चटक्कै बिर्सन सकिँदैन तर एउटै दृष्टिकोणलाई मात्र ध्रुवसत्य मान्ने मानसिकतालाई भने कायम राख्न हुँदैन।
कृत्रिम बौद्धिकता, आधुनिक प्रविधि, रोबोट तथा अन्य नयाँ नयाँ विधि पद्धतिको आविष्कार भएको वर्तमान सन्दर्भमा समान प्रकृतिका व्यक्ति वा प्रतिभा उत्पादन गर्नुभन्दा व्यक्तिको मौलिक विशेषतालाई पहिचान गरी सोही विशेषतालाई पुष्पित र पल्लवित गर्न सहयोग पुर्याउनु महत्त्वपूर्ण देखिन्छ।
सिकाइ सिद्धान्तमा दण्ड र पुरस्कारलाई महŒव दिएको पाइन्छ। अनपेक्षित आदत वा व्यवहार हटाउन दण्ड र स्वीकार्य व्यवहारलाई सबलीकरण गर्नका लागि पुरस्कारको व्यवस्था गरे सिकाइ सफल हुन्छ भन्ने व्यवहारवादी सिद्धान्तको प्रयोग शिक्षा क्षेत्रमा हुँदै आएको छ। यसको प्रयोगमा भने समाजको विकासक्रम र सभ्यताले भूमिका खेलेको हुन्छ।
शारीरिक र मानसिक दण्डलाई आधुनिक समाजमा स्वीकार गर्न नसकिने भएकाले उपलब्ध अवसरलाई सङ्कुचित गर्ने वा निश्चित समयका लागि निलम्बन गर्ने विधिका रूपमा दण्डलाई अवलम्बन गरेको पाइन्छ। पुरस्कारका सन्दर्भमा पनि शाब्दिक वस्तुजन्य वा समर्थन लगायतका तरिकालाई अवलम्बन गरिन्छ। यसले विद्यालय क्रूर, निर्मम एवं शारीरिक र मानसिक दण्ड दिने यातनागृह बन्नुहुँदैन भन्ने मान्यता राख्छ।
मनोवैज्ञानिक सिद्धान्तका आधारमा सिकाइ क्रियाकलाप मानसिक कार्य भएकाले जे सिकाइन्छ, त्यस सँगसँगै जस्तो वातावरणमा सिकाइन्छ, त्यसको पनि प्रत्यक्ष प्रभाव व्यक्तित्व विकासमा पर्ने ठानिन्छ। सिकारुले शिक्षक तथा शिक्षण संस्थालाई नै आदर्श वा मोडल मानी त्यहाँका परिवेश र क्रियाकलापलाई अनुसरण एवं अनुकरण गरिरहेको हुन्छ।
यसै आधारमा उसको चिन्तन र दृष्टिकोण विकास हुन्छ। हिंस्रक वातावरणमा हुर्केका बच्चा समयान्तरमा यस्तै प्रकृतिका क्रियाकलापमा संलग्न भएका र प्रतिशोधी चिन्तन एवं हीनता ग्रन्थीले ग्रस्त भएका देखिएका छन्। यसविपरीत स्वतन्त्रतापूर्वक निर्धक्क भई आफ्ना विचार र कार्यको प्रदर्शन गर्न सक्ने वातावरणमा हुर्केका व्यक्तिको आत्मबल उच्च तथा व्यक्तित्व आकर्षक एवं मानसिक रूपमा स्वस्थता पाइएको छ।
नेपालका प्रचलित कानुनले कुनै पनि नाममा विद्यालय वा घरपरिवारमा बालबालिकालाई शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था गरेको छ। विद्यार्थीलाई नियन्त्रण गर्न प्रतिष्ठित विद्यालयले समेत डिसिप्लिन इन्चार्ज (डिआई) का रूपमा केही व्यक्तिलाई जिम्मेवारी दिने र उनीहरूका माध्यमबाट विद्यार्थीमा आतङ्कको वातावरण सिर्जना गर्ने अभ्यास केही समयअगाडि प्रचलनमा थियो।
सामाजिक सञ्जाल, सञ्चार माध्यम र सचेत नागरिकका प्रतिरोधका कारण डिआई राख्न नपाइने व्यवस्था गरियो। यसले विद्यालयमा बालमैत्री वातावरणमा सिकारुले सिक्ने अवसर पाउँछन् भन्ने अपेक्षा गरिएको थियो तर क्रूर यातना दिने डिआईको नाम मात्र परिवर्तन भएको पाइयो।
अहिले पनि ठुला १० जोड २ विद्यालयमा सिआई अथवा काउन्सिलिङ इन्चार्जका रूपमा अनुशासन कायम गराउने जिम्मेवारी डिआईलाई दिएको देखिन्छ । आफू स्वयं अनुशासनमा नरहेका यस्ता व्यक्तिले विद्यार्थीलाई तर्साउने र शारीरिक तथा मानसिक यातना दिने गरेका घटना प्रशस्तै छन्।
काठमाडौं उपत्यकाका प्रतिष्ठित विद्यालय÷कलेजमा सिआईले गरेका अत्याचार र दिएका यातना प्रताडित विद्यार्थीले सामाजिक सञ्जालमार्फत आफ्ना भोगाइ सार्वजनिक गरेका छन्। उनीहरूको कहालीलाग्दो अनुभव कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्ने खालका छैनन्।
विद्यार्थीहरूका अनुभव र अनुभूतिलाई हेर्दा उनीहरूको समय नयाँ कुरा सिक्नभन्दा यातना सहन र त्रासपूर्ण वातावरणमा बस्न विवश भएको महसुस हुन्छ। अनावश्यक रूपमा वैयक्तिक स्वतन्त्रताको हस्तक्षेप गर्ने, हरेक क्रियाकलापमा शङ्कालु दृष्टिले व्यवहार गर्ने, सिकाइभन्दा नियन्त्रण नै ठुलो कुरा हो भनी विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिने कामले निरन्तरता पाएको देखिन्छ।
सार्वजनिक रूपमा विद्यार्थीलाई लज्जित तुल्याउने, गाली बेइज्जती गर्ने एवं शारीरिक दण्ड दिएर पुरुषार्थ देखाउन खोज्ने विद्यालयका कारण धेरै विद्यार्थी मनोसामाजिक समस्यामा परेका छन्। अनावश्यक डर र त्रासका कारण उनीहरूले आफ्नो स्तरअनुसारको सिकाइ गर्न सकेका छैनन् भने विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका छन्।
भर्खर मात्र सार्वजनिक समाचार प्रतिनिधि घटना भएकाले विद्यालयले अनुशासन पालकका नाममा व्यवस्था गरेका गैरकानुनी एवं विद्यालयलाई नै बालमैत्री बन्नबाट च्युत गराउने सिआई राख्ने काममा समयमै नियन्त्रण गर्नु आवश्यक छ। दण्डको वातावरणमा हुर्केका बालबालिकाले सही र गलत काम, कुरा र व्यवहारलाई छलफल र अध्ययनका आधारमा छुट्याउनुभन्दा जबरजस्ती आफूमाथि लादिएको ठान्छन्। जसले गर्दा स्थापित मूल्य मान्यतालाई भञ्जन गर्नुलाई नै आफ्नो उपलब्धि ठान्ने मानसिकताको विकास हुन्छ। विद्यालयमा दिइने दण्डले विद्यार्थीमा हिंस्रक र प्रतिशोधी भावना विकास गर्ने तथा लागु औषध एवं मादक पदार्थको सेवन गर्न उत्प्रेरित गर्ने कामसमेत गरेको हुन्छ।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन तथा सभ्य, शिष्ट नागरिक उत्पादन गर्न विद्यालय पूर्ण रूपमा शान्ति क्षेत्र हुनुपर्छ। विद्यार्थीले स्वतन्त्र रूपमा बालमैत्री वातावरणमा शिक्षण सिकाइ क्रियाकलापमा आफूलाई सहभागी गराउन पाउनुपर्छ। यसका लागि स्थानीय तह, प्रशासन तथा समग्र शिक्षा क्षेत्रमा सक्रिय निकाय र संस्थाले निगरानी आवश्यक छ।
दण्डको असर लामो समयसम्म र धेरै पछि पनि देखिन सक्ने भएकाले यसलाई बेलैमा निराकरण गर्न आवश्यक छ। विद्यालय, कलेज विद्यार्थीलाई दण्डका माध्यमबाट नियन्त्रण गरी कारखानाको उत्पादन जस्तै एकै किसिमको उपलब्धि खोज्ने स्थान बन्नु हुँदैन, उनीहरूको मौलिक विशेषताको संरक्षण गर्दै आलोचनात्मक सिप, ज्ञान र अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने सशक्त कार्यशाला बन्नुपर्छ।
श्रोतःhttps://nagariknews.nagariknetwork.com/





