सेतो कोटभित्र लुकेको पीडा


संगिता छेत्री

सेतो कोट देख्दा
सबैलाई लाग्छ—
यो मान्छे बलियो छ,
यसलाई केही हुँदैन।

तर त्यो सेतो कोटभित्र
ननिदाएका रातहरू छन्,
लुकाइएका आँसु छन्,
र चोट सहेर पनि
मुस्कुराइरहने आत्मा छ।

रातको दुई बजे
सारा संसार सुत्दा,
डाक्टरको हात
कसैको ज्यान बचाउन काँपिरहेको हुन्छ।
आफ्नो परिवार होइन,
अरूको पीडा सम्झेर
उनीहरू रात काट्छन्।

लाखौँ खर्च गरेर पढियो,
जिन्दगी अस्पतालमै बिताइयो,
तर महिनाको तलब—
१६–१७ हजारमै सिमित।

त्यो पैसाले
खान–लाउन धौ–धौ,
भविष्यका सपना
आँखामै रसाउँछन्।

बिरामी बाँच्यो भने
भगवान् सम्झिन्छन्,
बच्न सकेन भने
डाक्टर दोषी ठहरिन्छ।
एकछिनको मिस्टेकले
गाली, अपमान, कुटाइ
सबै सहनुपर्छ।

डाक्टर पनि मान्छे हुन्—
उनीहरूलाई पनि
डर लाग्छ, दुख्छ, रुन मन लाग्छ।
तर समाजले
उनीहरूलाई रोबोट बनाइदिएको छ।

सेवा मात्रै होइन,
सम्मान पनि चाहिन्छ।
त्याग मात्रै होइन,
सुरक्षा पनि चाहिन्छ।

सेतो कोटभित्रको यो पीडा बुझौँ।
किनकि डाक्टर सुरक्षित भए मात्र
समाज सुरक्षित हुन्छ।