“नववर्ष स्वागत”

नववर्ष२०८३को हार्दिक शुभकामना ………


गणेश आत्रेय
मदनपोखरा,तानपा-९,पाल्पा

थोत्रा पुराना चिज हेय मानिने।
नौला नयाँ प्रेय भनेर ठानिने॥
संसारको रीत यही छ शाश्वत।
गरौँ त्यसैले नववर्ष स्वागत॥

जन्मन्छ प्राणी शिशुको स्वरूपमा।
गर्छन् सबै स्नेह सिहार साथमा॥
यो शृङ्खला सृष्टि निमित्त धन्य छ।
मायाँ नयाँमाथि जहीँ अनन्य छ॥

बित्छन् घडी याम कला पला क्षण।
हुन्छन् पुराना सब वस्तुका कण॥
रोज्दैन कोही पनि हेर जीर्णता ।
रोजिन्छ राम्रो नवनीत भव्यता॥

बूढाहरू हो अभिमान मादक।
छोडौँ घमण्डी भ्रमयुक्त आदत॥
नौला युवाका सँग आत्म जोडियोस्।
मिथ्या घृणाका अपमार्ग मोडियोस्॥

संस्कार हाम्रो अघिदेखिको छ यो।
सन्यास नै वृद्ध परम्परा छ भो’॥
शास्त्रीयता वा इतिहास हेरियोस्।
सांसारिकी राग समस्त फेरियोस्॥

त्यागी सबै लोभ र मोह लालसा।
सत्कर्म सत्धर्म बनोस् विशेषता॥
नौला युवामा व्यवहार अर्पण।
गरौँ न पुस्तान्तरणीय शिक्षण॥

सर्वज्ञ सञ्चालक आफु केबल।
नादान नौला अनजान निर्बल!॥
ठानी उपेक्षा अपमान नित्यश:।
चल्दैन त्यो क्षुद्र स्वभाव कर्कश॥

भाग्यो बयासी बुढिएँ भनेर त्यो।
आयो तिरासी म युवा भनेर यो॥
आनन्द छाओस् जनको छ चाहत।
हाँसो खुशी होस् नववर्ष स्वागत॥