“मद्यपानको प्रभाव”


शोभा कोइराला

छर्नुपर्छ चेतना प्रभातमा समाजमा
रोगको सिकार यो नहोस् न अन्तकालमा
पत्रु पार्छ दैनिकी विकारको प्रयोगले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले।

फूलको छ जिन्दगी सजाउँनै छ योगले
सभ्यता सिकाउँने अदम्य होस् न जोडले
तोड्छ लाजसर्म नै असभ्य यो अचेतले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले।

ज्ञान होस् परन्तु घट्छ योग्यता स्वभावमा
सुस्त सुस्त दुर्विचार मात्र डाक्छ व्यक्तिमा
भ्रष्ट पार्छ तीक्ष्ण बुद्धि मात्र बेहिसाबले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले।

क्रोधको दरो जरो बनाइदिन्छ बातले
दोष मात्र देख्नथाल्छ गुम्छ अर्थ पानले
ज्ञान मर्छ सिद्धि हुन्न बुझ्नुपर्छ भावले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले।

खान हुन्न खान हुन्न खान हुन्न जान यो
मानवीय जिन्दगी सुधार्नुपर्छ मान यो
भक्ति घट्छ होस् गुम्छ मद्यको प्रभावले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले।