“सुस्वागत ग्रीष्म”


मचिन्द्र खत्री

उदायो ग्रीष्मको घाम
बिहानै ताप भर्दछ
स्वागत तापले गर्ला
यसले ताप छर्दछ।।

तैपनि धर्म छ ठूलो
कर्म कृषक गर्दछ
व्याडमा बीउ यो बेला
उल्लास साथ छर्दछ।।

पक्षीका स्वर गुञ्जन्छन्
नानाथरी जताततै
आँधी हुंकार गर्दछ
यसो साँझ कतै कतै।।

गड्किन्छ मेघमाला यो
बर्सिन्छ जल दर्किदै
कड्किन्छ बिजुली बाण
थरर्र थर्र थर्किदै।।

ग्रीष्मको रीत हो यस्तै
रीतमा ग्रीष्म चल्दछ
नबर्से जल यो बेला
ग्रीष्म भै अग्नि बल्दछ।।