विश्वास


टीकाराम जोशी
इमाडोल

“मेरो छोरा बाह्र वर्षमा टेक्यो। अहिलेसम्म हिसाब गर्न जानेको छैन। यी भुराहरूलाई हेर्नुस् त हजारको नोट दिएर दस रूपियाँको चाउ चाउ मागेर खाँदैछन्।” उनले भनिन्।
तिनको अनुहारमा चिन्ताका भाव देखेर मैले उनको कुरामा रूचि लिएँ।
“तपाईँको छोरा कुन स्कूलमा पढ्छ ?” मैले सोधेँ।
उनले कुनै स्कूलको नाम लिइन्।
उनले भनेको स्कूल नामी मात्र थिएन महङ्गो पनि थियो।
मलाई आश्चर्य लाग्यो। मैले उनलाई नियालेर हेरेँ। उनको जिउमा मट्याइला लुगा थिए। हातमा सिमेन्टको लागेको थियो। उनी नजिकै बनिरहेको घरमा ज्यालादारी गर्दछिन् भन्ने मैले अड्कल काटेँ।
मैले उत्सुकतावश फेरि सोधेँ,”कुन कक्षामा पढ्छ ?”
“छ मा ।” उनले पसलेबाट डोनट लिँदै भनिन्। सायद उनको खाजा समय भएको थियो।
म अवाक् भएँ। मेरो अपेक्षा विपरित उत्तर आएको थियो।
मन्द बुद्धी भएको भए छ सम्म कसरी पुग्थ्यो।
पसलेले एक हजारको खुद्रा त्यस बच्चाको हातमा दिँदै भन्यो, “बाटोमा न खसाल्नु।”
“हाँ ।” उसले भन्यो र पैसा मुट्ठीमा लिदै दगुर्यो। उसको पछिपछि लागेर आएका तिनजना भुराभुरी पनि ‘मलाई दे न, मलाई दे न भन्दै दगुरे।
“यिनका आमाबा पनि गजबका छन्। कहिले पाँच सय त कहिले हजारको खुद्रा लिन पठाउँछन्।” पसले सुनाउन थाल्यो।
म सोचमा डुबेँ।
सम्भवतः स्कूलमा त्यसबेला उनको छोरा रूपियाँ पैसाको हिसाब गरेर देखाउँदै थियो होला।
“तपाईँले आफ्नो छोरालाई यसरी पैसा दिएर सामान किन्न कहिल्यै पठाउनु भएको छ ?” मैले सोधेँ।
उनले टाउको हल्लाइन्।
उनको उत्तरमा नै समाधान थियो। सिकाइमा अभिभावकले बालकलाई हेर्ने दृष्टिको ठूलो भूमिका हुन्छ। मैले निश्कर्ष निकालेँ।
मैले भने,”छोरालाई विश्वास गर्नुस्।”