“असार”

गणेश आत्रेय
मदनपोखरा,पाल्पा

जब मेघ त्यो, यता सर्यो;
जन जीवमा, खुसी छर्यो।
रवि-ताडना, कमी भयो;
मन चाहको, झरी झर्यो॥

वनबाग भो’, हराभरा;
जन जीव ती, कली चरा।
सबमा खुसी, अपार भो’;
जल बर्सियो, जँघार भो’॥

कृषि कार्यमा, जुटे सबै;
कति खेतमा, पुगे अझै।
हल गोरु ती, हलीसँगै;
खनजोतमा, खटे सबै॥

मल बीउ ती, जुटाउँदै;
सब खेतमा, पुर्याउँदै।
जब रोप्दछन्, र गोड्दछन्;
कृषि-क्रान्ति होस्, गुहार्दछन्॥

छ असार यो, हतारको;
सब कर्ममा, विचारको।
बन उद्यमी, र पौरखी;
अनि पो हुनेछ, उन्नति॥