“असार पन्ध्रमा”


विदुर अधिकारी
रामपुर,चितवन

कृषक हामी ,बन्नु छ दामी, सत्कर्म गरेर
खेतको गरा , सजाऔँ हामी ,रोपोले भरेर
बादलु धेरै, छाएर हो कि, देखिन चन्द्रमा
दही र चिउरा ,खाएर नाचौँ, असार पन्ध्रमा।

दर्कियो झरी,लौ न के गरी, जाने हो खेतमा
ओडेर घुम , लौ साथी हिँड ,जगाउँदै चेतना
कुलाको पानी,ए सानी नानी, झर्दै छ खेतमा
दही र चिउरा ,खाएर नाचौँ ,असार पन्ध्रमा।

छरेर मानो,उब्जाउनू भन्छन्,यो दिव्य बेलामा
तिर्सना छरी साहस भरी,जाऊँ हिँड मेलामा
मिलेर कर्म ,गरौँ न साथी, हुने छ सम्झना
दही र चिउरा ,खाएर नाचौँ ,असार पन्ध्रमा।

दब्दबे हिलो,छ अति गिलो, दाँदेले साएर
रोप्दै छन् बारी ,हाम्रा रोपारी,असारे गाएर
परेर हिलो छोपियो तिम्रो शिरको चन्द्रमा
दही र चिउरा ,खाएर नाचौँ ,असार पन्ध्रमा।

यो हाम्रो रीति,रिवाज राम्रो, पुर्खाले बनाए
कृषिको कर्म ,गर्नु हो धर्म , भनेर चिनाए
देशको निम्ति,उब्जनी बढ्ने,निकालौँ योजना
दही र चिउरा ,खाएर नाचौँ ,असार पन्ध्रमा।