“आजको मान्छे”


उषा गुरुङ

नझोसी दाउरा बल्दैन चुल्हो कसै गरी
चुल्हो नबली पाक्दैन खाना त्यसै गरी।

खाना नपाकी भरिदैन उदर कसै गरी
कर्म नगरी पाक्दैन खाना त्यसै गरी।

प्राणी मध्ये मानिसले खानु पर्ने थरी थरी
अन्य प्राणी खोजी खान्छ आफैँ मरी मरी।

दुर्लभ मानव चोला मात्र खानु छ घरीघरी
खानैको लागि यहाँ रात दिन छ लुछाचुडी।

भेटे जति सबै खाने मान्छे यहाँ अनेकथरी
पिउने पानी, रक्सी, पेट्रोल,पिउने परीपरी।

भात, दाल, रोटी, ढिँडो, जुस, घुस कतिकति
रड, सिमेन्ट, बोरा बोरा सुन, गाँजा,भने जति।

मान्छेले जे खाए नि पच्ने कस्तो छ आन्द्राभुँडी
धर्तीमा अन्य प्राणी शान्त तर मान्छे कत्ति उग्रचण्डी।।