
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर,६ दोलखा
गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज अनभिज्ञ थियो । रातारात घर, गाडी, लवाइ खवाइ बदल्थ्यो । अशान्ति झैझगडा टोलटोलमा उसका मानिस कमी थिएन । चोकचोकमा उसका लठैतहरु तैनाथ हुन्थे । अबोध केटाहरुलाई फ्रिमा होटलमा खर्च गर्थे । टोलका केटाहरुलाई कुलतमा फसाई उदण्ड बनाएर चोरी, डकैती गराई आफ्नो लक्ष्य पूरागर्नु उसको धन्दा थियो । रघुवीर सामान्य परिवारमा जन्मेको बालक ऊ आठ कक्षामा पढ्थ्यो । ऊ मिजासिलो लगनशिल थियो । घरको काम सघाउँथ्यो । एकदिन उसको साथीले “चोकमा दादाहरु छन्, फ्रिमा जे जे मनलाग्यो खुवाउँछन् । जाउँ हिँड रघुविरे” भने । रघुवीरलाई चाउचाउ, मम असाध्यै मनपर्थ्यो तर घरको कमाइले बल्ल बिहान बेलुकाको एकपेट मिल्थ्यो । बेलुका सडकबाटै उसको साथीले “रघुवीरे” भनेर चिच्यायो । यो आवाज सुनेपछि उसले यताउती हेर्या । फ्रिको खानेकुरा बुझेर सुटुक्क चोकतिर लाग्यो । साथीले सरासर होटलमा लग्यो अनि भन्यो यो मेरो साथी । उसले टन्न मम,चाउमीन खायो । आज भोलि पर्सि उसको सम्बन्ध स्कुल र घर भन्दापनि चोकतिर हुनथाल्यो । छोरा बदलिएकोमा उसका बाबा आमालाई अचम्म लाग्यो। फुत्त भाग्ने, आधारातमा गनाउँदै घर आउने, केही सोध्योभने आमासँगै फोहोरी शव्दले प्रतिवाद गर्ने, बाबासँग कुस्ताकुुस्ती गर्ने उदण्ड हुँदै गयो । घरपरिवार दुखी हुँदै गयो । स्कुलबाट पनि सिकायत आउन थाल्यो । बाबा आमा छोरा के भइको हो भनेर लुकिछिपी खोजी गर्दैजाँदा कहिले धुम्रपान, कहिले लागू पदार्थ त कहिले कहिले मद्यपान गररिहेको र चोके दादाको आदेश अनुसार असामाजिक काम गरिरहेको अवस्थामा भेटेर घरमा ल्याउँथे । रघुवीरका बाबाले प्रहरी चौकीमा उजुर गरे । चोकेदादालाई समातियो, रामधुलाइ भयो र थुनियो । यो देखेर ती साना केटाहरु थरथर कामी यताउता भाग्न खेजे । त्यत्तिकैमा असइको फोन आयो । “हेलो म धर्मेश बोलेको मेरो केटालाई किन थुनेको तुरुन्त छोडिदेऊ” तर पुलसिले छोडेन, थानामा पठायो । फोन ठूलो आवाजमा थियो टोलचौकीको भीडले सबैकुरा सुन्यो, अनि टाउको अल्लाएर ए धर्मेशेको काम यो भनेर आआफ्ना केटाहरुलाई लिएर घर गए र धर्मेश र चोके दादा कस्ता मान्छे हुन् भनेर टोलका मान्छेहरुले संझाए । भोलिपल्टदेखि ती अबोध केटाहरुले हिजोको घटना सम्झे, रामधुलाई सम्झे र ठूला मान्छेका अर्तीबाट सबै कुरा बुझेपछि चोक जान छोडे । समाजमा शान्ति छायो । सबै केटाहरुले आफ्ना बाबा आमासँग माफी मागे र राम्ररी मेहनत गरेर पढ्न थाले।





