शोभा कोइराला
नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने
योद्धा बन्दै हरबखत नै सत्यको खोज गर्ने
देवी साक्षात् अतुल बलकी योगमाया पुजारी
गार्गी जस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी।
नारीबाटै रजतपटको खुल्छ शोभा भनेर
चर्चा गर्छन् मनुज जनले बातलाई मथेर
होऊन् गङ्गा प्रगतिपथमा नित्य बग्ने सवारी
गार्गी जस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी।
धर्तीपुत्री जनकपुरकी जानकीझैँ दुलारी
होऊन् न्यारी अमर रहने सृष्टिकी सर्वहारी
ध्यानी बन्दै घुमफिर गरून् नेत्र आफ्ना उघारी
गार्गी जस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी।
आभा छर्दै गगनपुरमा डुल्न सक्ने अशेष
होऊन् नारी विकिरण सबै सोस्न सक्ने विशेष
आशावादी सवल विमला ती बनून् ब्रह्मचारी
गार्गी जस्तै भुवनतलमा जन्मियून् श्रेष्ट नारी।
द्रष्टा स्रष्टा कुशल धवला चन्द्रमा छक्क पार्ने
होऊन् नारी कुशल विजया चक्षुलाई उघार्ने
त्यागी सारा सुखसयलका मोहमाया भकारी
गार्गी जस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी।