
सालिक राम सत्याल
खजुरा ३ बाँके
श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले भरिएको थियो। आमाले पित्तलको थालमा दूबो अक्षता रङ्गीचङ्गी फूल र रातो पहेंलो डोरो सजाइ रहनु भएको थियोे । भान्साबाट मीठो क्वाँटीको बास्ना आइरहेको थियो।
छोरोले जिज्ञासाले हेर्दै सोध्यो, “आमा आज दिदीले मलाई डोरो बाँध्छिन् नि त्यसले मेरो सधैँ रक्षा हुन्छ हो ?”
आमाले मायाले कपाल मुसारदैभनिन्, “हो बाबु यो डोरो मात्र धागो होइन यसमा माया विश्वास र शुभेच्छाको अटुट गाँठो बाँधिएको हुन्छ।”
त्यत्तिकैमा बाहिर छिमेकीबाट रेडियोको चर्को आवाज आयो त्रिशूली भोटेकोसी र बलेफीमा आएको भीषण बाढीले नदी किनारका बस्तीहरू पूर्ण रूपमा ध्वस्त पार्यो सयौँ घर पुलबाटो बगाए थुप्रै मानिस बेपत्ता।
आमाको हात अचानक रोकियो। थालीमा राखेको डोरो रङ्गीन भएर पनि मनमा निस्तेज लाग्यो।
छोरोले फेरि सोध्यो, “आमा हाम्रो रक्षा गर्ने त्यो डोरोले के नदीको उर्लने भेल पनि रोक्न सक्छ ?”
आमाको ओठ थर्थराए केही बोल्न सक्नुभएन । उहाले झ्यालबाट बाहिर हेर्नु भयो। बादल पहाडमाथि झुन्डिएको थियो, नदीको गर्जन कानै फुट्ने गरी आइरहेको थियो।
दिउँसो गाउँको बाटो हुँदै एक बृद्ध मानिस आए । काँधमा कपडाको पोको थियो भित्र छोरीका लुगा थिए।
बाढीले घर लग्यो कि मान्छे? कसैले सोध्यो।
बृद्धले टाउको झुकाएर सुस्तरी भने, “घर त फेरि बनाउन सकिएला तर मेरी छोरी फर्काउने बाटोचाहिँ नदीले नै बगाइ लग्यो।”
आमाको आँखाबाट आँसु झरिरह्यो । हातमा छोराको निम्ति बाँध्न ल्याएको डोरो कस्सिएर समातिन्।
त्यस दिन धेरै घरमा राखी बाँधिए क्वाँटी पाक्यो मन्त्र पाठ भयो शुभकामना साटिए। तर नदी किनारका पीडित घरमा चाहिँ चुल्हो नै बलेन।
कतै आमाको काख रित्तियो कतै को काँध भारले थिचियो कतै दाजुको नाडीमा बाँधिनुपर्ने डोरो शोकको सेतो कपडामाथि निश्चल राखियो। साँझ परेपछि छोरोले फेरि सोध्यो, आमा आज हामी रक्षाबन्धन मनाइरहेका छौँ कि शोक मनाइरहेका छौँ ?
आमाले उसको नाडीमा बाँधिएको डोरो हेर्दै भावभरिएको स्वरमा भनिन्, “बाबु हामीले डोरो त बाँध्यौं तर जसको रक्षा गर्न सकेनौँ तिनीहरूको सम्झनाले आज सिङ्गो देशको मुटु शोकले बाँधिएको छ।”
बाहिर त्रिशूली अझै गर्जिदै छ।
आँगनको तुलसीमुनि राखिएको पित्तलको थालीमा रातो डोरोसँगै केही थोपा आँसु पनि चुपचाप बाँधिएका छन्।





