
मचिन्द्र खत्री
फुट्छन् अझै हिमाद्रीका
काखका ताल पोखरी।
तात्दो छ अवनी नित्य
बाँच्लान् मानिस के गरी।।
जान्छन् कति अझै ठूला
हिमाल पहिरो बगी
कर्मको फल भोग्नै छ
मानव पख यो घडी।।
चुचुरा टेक्न तम्सिन्छस्
नाम दाम कमाउन
आउला दिन यो यस्तो
न पाउँलास् समाउन।।
नचला अब यो धर्ती
नचला शान्त बस्न दे।
यो नियम छ धर्तीको
नियमभित्र पस्न दे।।
केही होइन तेरो यो
घमण्डको घडा न हो।
शैल शिखर टेकेर
भो भो अब खडा न हो।





