
नन्दलाल आचार्य
“म यो घरको छोरी मात्र होइन, आफ्नै भविष्यकी मालिक पनि हुँ।”
सविताको शान्त तर दृढ स्वरले कोठाको मौनता भत्कियो । बाबुको हातमा चियाको गिलास अडिएकै ठाउँमा रह्यो ।
सविताले स्नातकसम्मको पढाइ पूरा गरिसकेकी थिई । घरमा फेरि पुरानै कुरा सुरु भएको थियो- ‘अब उमेर बित्यो, घरजम गरिदिनुपर्छ।’
केटापक्षको प्रस्तावमा सम्पत्ति र सामाजिक हैसियतको हिसाबकिताब चलिरहेको थियो, तर सविताको चाहना र करियरबारे कसैले सोधेको थिएन।
“तिमीले कुरा कस्तो नबुझेको ? राम्रो घरपरिवार पाएर ढुक्क होला भनेको त !” बाबुले स्वर नरम पार्दै सम्झाउन खोजे ।“बाबा, ढुक्क त तब हुन्छु, जब म आफ्नै खुट्टामा उभिएर केही गर्छु । विवाह मेरो बाध्यता वा सम्झौताको विषय होइन, रोजाइको विषय हो ।” सविताले बाबुको आँखामा आँखा जुधाएर भनी।
बाबु केहीबेर चुप लागे । उनले सविताको अनुहारमा डर होइन, आत्मविश्वास देखे । वर्षौँदेखि ‘छोरीलाई नियन्त्रणमा राख्नुपर्छ’ भन्ने नाममा आफूले लगाएको अदृश्य बार उनलाई आज उनलाई साँघुरो लाग्यो।
बाबुले बिस्तारै चियाको गिलास टेबुलमा राखे र भने, “ठीक छ छोरी, तिम्रो पढाइ र सपना नरोकिने गरी नै कुरा गरौँला।”
सविताको ओठमा हल्का मुस्कान फैलियो । घरको आँगनमा पहिलोपटक बिद्रोह बिना नै परिवर्तनको घाम झुल्किने गरी बाबुले केटापक्षसँग फोनमा भने; “छोरीको चाहनाविपरीत हामी कुनै कदम चाल्दैनौँ।”





