“नववर्षको शुभकामना”

देव भट्टराई

छन्द: संयुता

शुभकामना नववर्षको ।
सहचाहना सुख हर्षको ।।
मृदु प्रेमले घर होस् घर ।
मनुबीचमा दृढ होस् भर ।।

सुखशान्ति होस् भव, राष्ट्रमा ।
सच झल्कियोस् व्यवहारमा ।।
रिपु टाढिऊन् दुख बाँडिऊन् ।
वृष बाँधिऊन् प्रिय छाडिऊन् ।।

गुन फैलिओस् घुन मासियोस् ।
हठ नासियोस् सच गाँसियोस् ।।
लघु चित्तका अपवित्रता ।
अब सुध्रिऊन् मनभित्रका ।।

नबचोस् अहम् जितहारको ।
जयकार होस् उपकारको ।।
क्षय होस् सधैँ अभिमानको ।
प्रभु ! बक्सियोस् वरदान यो !!

खल पात्रझैँ चलचित्रका ।
नभई बढोस् अझ मित्रता ।।
नववर्षमा नव-भावना ।
शुभकामना ! शुभकामना !!