“सरस्वती वन्दना”


शोभा कोइराला

गरूँ म नित्य वन्दना उपासना र साधना
हिडूँ सुमार्गमा सदा जलाउँदै कुभावना
जपूँ प्रकाश दायिनी बनूँ प्रभाव गायिनी
सरस्वती! सदा भनूँ सुभावना प्रदायिनी।

विशेष गर्छु प्रार्थना विचार औ प्रकारले
पुकार गर्छु शारदे झुकेर दिव्य भावले
दिवा प्रभात साँझमा विनम्र भावना भरूँ
सरस्वती म प्रेमले पवित्र सिर्जना गरूँ।

दयानिधान शारदे परिश्रमी म बन्दछु
अपार भक्ति साथमा सदैव नेत्र खोल्दछु
अनन्य नाम साथमा अनन्य सिर्जना गरी
सजाउँदै रमाउँदै म बन्छु दिव्य मञ्जरी।

सितार हातमा लिने ! विशिष्ट वाद्यवादिनी
र श्वेत हंस साथमा विराज हंसवाहिनी
अचेतना नहोस् ममा विवेककी प्रदायिनी
प्रकाशिनी प्रसादिनी विभिन्न रूप धारिणी।

कृपालु बन्छु शारदे गरेर कर्म निश्चल
उदार बन्छु शारदे बुझेरर धर्म शीतल
कला र शिल्प साथमा विशुद्ध भाव अर्पियूँ
गला र राग साथमा जताततै म फैलियूँ।