“समान व्यवहार राखौँ”


भगवतीप्रसाद शर्मा

छोरी दिदी र बहिनी जननी भनेका
राखे विभेद जहिल्यै रहँदैन शाखा
राखौँ समान व्यवहार नहोस् नराम्रो
आधा अकास धरती बुझ नित्य हाम्रो।

सारा गए नगदमा मतियार जत्था
छोरी निमोठ्न अहिले किन भ्रूण हत्या
नारी अमूल्य गहना मृदु फूलबारी
बुझ्दैन मानिस सही अझ बस्छ हारी।

नारी विना पुरुषले न त चल्छ सृष्टि
आओस् हरेक घरबाट सचेत दृष्टि
हाम्रा सचेत महिला अब जागजाग
उठ्नै छ सन्तति तिमी अनि मिल्छ मुक्ति।

नारा अचेल गतिला तर काम शून्य
ठूलो छ बाहिर कुरो गरिँदैन पुण्य
ल्याएर मात्र विधिले बह सङ्लिँदैन
आफैँ सुतेर मुखमा जल आउँदैन।

आधार सृष्टि शिशुकी जग हौ छहारी
नारी मुहार नहुँदा नर भो भिखारी
राखौँ समान व्यवहार हरेक ठाउँ
राम्रो पढाउनु पर्यो गर यो तयारी।

बन्छन् सचेत महिला जब हुन्छ भेउ
छैनन् असंभव कुरा अधिकार देऊ
नारी हुँदा असजिलो न त हुन्छन् काहीँ
पाऊन् समान व्यवहार नपार छेउ।

शिक्षा सुयोग्य बनिने घर हो सबैको
राखौँ विवेक घरमै जग हो सबैको
छोरी भनेर पर पार्नु कदापि हुन्न
छोरी भएर जननी पछि हुन् सबैको।