Categories: बाल कथा

अर्ती लागु गर्न नसक्दा


युगल बसेल
सन्धिखर्क- १ (हाल चन्द्रागिरी -११)

गाउँको पुछारमा रहेको एकान्तजस्तो ठाउँमा कुनै साधुको आश्रम थियो। साधु सधैँभरि सबैको हित चिताउँथे र हितै गर्थे । के ठूलो के सानो, के धनी के गरिब ,उनका लागि सबै बराबर थिए । त्यतिमात्र होइन, मानिस वा पशुपंक्षीमा
समेत उनले कुनै भेदभाव राख्दैनथे। मान्छेहरु मनमा कुनै पिरलो पर्दा त्यस पिरलोबाट छुटकारा पाउने उपाय साधुले
बताइदिन्छन् कि भनेर उनको आश्रममा आउने जाने गर्थे । साधुले ज्ञान उपदेश गरेर मान्छेका मनका पिरलोहरूलाई सके हटाइदिने नसके घटाइदिने गर्थे।
एक दिन साधु साँझपख चउरतिर डुल्दै थिए। त्यहाँ उनले एउटा ढुकुरलाई शिकारीको जालमा फसेर फटफटाइरहेको देखे। जती चरी फरफटाउँछ, उती पाता कसिन्छ भनेजस्तै गरेर ढुकुर फटफटाउँदै गर्दा जालको पासोचाहिँ कसिँदै
गइरहेको थियो । साधुलाई चराको त्यो अवस्था देखेर दया लाग्यो । उनले ढुकुरलाई हिफाजतसाथ जालबाट बाहिर निकाले । जालभित्र छटपटाउँदै गर्दा जालका रसीहरूमा घोटिएर उसका पखेटामा चोट लागेको हुनाले ऊ उड्न सक्ने
अवस्थामा थिएन । साधुले ढुकुरलाई आफ्नो कुटीमा लिएर गए र ओखतीमुलो गरे, जडीबुटी घोटेर उसका घाउहरुमा लगाइदिए।
बिस्तारै ढुकुरको घाउ बिसेक हुँदै गयो , पखेटाहरू पनि तन्दुरुस्त भएका हुँदा अब ऊ फेरि भुरुरु उड्न सक्ने भयो । त्यसलाई त्यत्तिकै छोडिदिँदा फेरि ऊ अर्को शिकारीको फन्दामा पर्ने लख साधुले काटे। त्यसैले उसलाई सिकारीको फन्दाबाट जोगिने अर्ती उपदेश दिएर मात्रै बिदा गर्ने सोच उनले बनाए । उसबाट अरू ढुकुरले पनि जोगिने तरिका सिक्लान् भन्ने सोचाइ पनि उनको मनमा आयो।
साधुले उसलाई अलिअलि गरेर यी हरफहरू सिकाउन थाले :-
“शिकारी आउँछ
जाल फिजाउँछ
चारा छरेर लोभ्याउँछ
लोभिनेले ज्यान गुमाउँछ।”
ढुकुरले यी हरफहरू बिस्तारै घोक्दै गयो । एकदिन ऊ सबै हरफ सजिलै भन्न सक्ने भयो। लय हालेर उसले ती पंक्तिहरू पाठ गरेको सुनेर साधुलाई एक किसिमको आनन्द मिल्यो । ढुकुरले आँगनमा उफ्रँदै ,कुद्दै आफूले सिकाएका
हरफहरू गाउँदा साधुलाई रमाइलो लाग्न लागेको थियो र ढुकुरप्रतिको माया पनि बढ्दै गएको थियो । आफ्नो रमाइलोको लागि चरीलाई बन्दी बनाएर राख्ने कुरा साधुलाई स्वीकार्य थिएन । त्यसैले अब ढुकुरलाई चाहिने ज्ञान पुग्यो भन्ने ठानेर “मैले दिएको अर्ती कहिल्यै नभुले है ” भन्दै साधुले उसलाई बिदा गरे। ढुकुर खुल्ला आकाशमा फुक्का भएर हावामा कावा खाँदै साधुको कुटीबाट टाढियो। कुटीबाट टाढिए पनि साधुले पढाएको पाठबाट भने ऊ टाढिएन । मौका पर्‍यो कि साधुले घोकाएका हरफहरू उसले मिठो भाकामा गाउने गर्थ्यो । उसले गाएको सुनेर अरु ढुकुरले पनि नक्कल गर्दै तिनै हरफ गाउन सिके।
एक दिन कुनै सिकारी घुम्दै ढुकुर बसेर गाउँदै गरेको रुखमुनि आयो । उसले त्यहीँ जाल फिँजाएर चारा पनि राखिदियो । आफूलाई देखेर चराहरू चारा खान आउने छैनन् भन्ने ठहर गरेर शिकारी अलि पर गएर बस्यो । जालमा छरिएको
चारा देखेर चराहरूको मुख रसायो।
“शिकारी आउँछ
जाल फिजाउँछ
चारा छरेर लोभ्याउँछ
चारामा लोभिनेले ज्यान गुमाउँछ।”
भन्ने गीत भट्याउँदै साधुको चेलो ढुकुर नै सबैभन्दा पहिले जालतिर हाम फाल्यो। पछिपछि अरु ढुकुरहरू पनि जालमा होमिएर फन्दामा परे। केही बेरपछि लोभी नजरले हेर्दै शिकारी आफ्नो जाल भएको ठाउँमा आयो।
जालमा थुप्रै चरा फसेर फटफटाउँदै गरेको देखेर ऊ रमायो। शिकारीले सबै ढुकुरहरूका मुन्टा निमोठेर तिनलाई सिलटिमुर खुवाइदियो । साधुले सिकाएको अर्ती घोके पनि त्यसलाई लागु नगरेकोले ढुकुरहरूको ज्यान गयो।
नानीबाबुहरू, हामीले पनि सिकेको ज्ञानलाई प्रयोग गर्न सकेनौं भने ज्ञानको कुनैअर्थ रहँदैन। हामीहरूको हरेक सिकाइ मुखले रट्नको लागि होइन , व्यवहारमा लागू गर्नको लागि हो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन है ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

11 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

11 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

11 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

12 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago