आज जनै पूर्णिमा किन बाँधिन्छ रक्षा बन्धन ? यस्तो छ धार्मिक महत्व र कारण

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
जनै पूर्णिमा अथवा रक्षा बन्धन नेपालका साथ साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूर्णिमा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

नयाँ जनै फेर्ने

यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए। उनले भने, ‘ मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो।’ उनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।
भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको लामो आयु र हरेक विघ्नबाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी(बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।
रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समयसमयमा उठ्ने गर्छ ।
अन्य पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो।दैत्य देवताहरुमाथि भारी पर्न थाले ।
देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।
त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।
राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर अमर  हुने वरदान दिए। राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए। भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।

श्रोतःhttps://www.lumbinihub.com/

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago