“कहिले मुस्कुराउँछन् ?”


घनश्याम रेग्मी

छिमेकी घरको बच्चा गाडीमा सर्र आउँछ
नयाँ जुत्ता तथा मोजा अङ्ग्रेजी गीत गाउँछ।
आमाको ममता मिल्छ बाबाको ओत पाइने
जाँदा हाँस्दै गयो बच्चा हाँस्दै फर्केर आउने।

झोला भारी गह्रुङ्गो छ बोक्दछन् अभिभावक
पहेँला यान बोकेर लैजान्छन् द्रुत धावक।
उसका घरमा पङ्खा छन् विद्यालयमा पनि
धेरै कुरा पुगेका छन् कस्तो सुन्दर जीवनी।

छिनेको सर्टको टाँक खुट्टामा छैन चप्पल
धुलो फुस्रो लुगाफाटो झोलामा छैन सामल।
गर्मी जाडो एकैनास उस्तै पोसाक लाउनु
भोको पेट हिँडेको छ खाना के खान पाउनु।

बाबुआमा दुवै छैनन् भएका ती अशक्त छन्
सम्पत्ति धूरको छैन आम्दानी छैन रिक्त छन्।
उध्रिएको छ त्यो झोला कापी पेन्सिल के हुनु
त्यस्तालाई सिकाएर पर्छ बुद्ध बनाउनु।

साँझमा घरमा पुग्दा रित्तो नाङ्गो छ आँगन
कहाँबाट जुटाएर खाने हो अन्न साधन।
तैपनि पढ्नका लागि दौडेर शीघ्र आउँछन्
ए राज्य! कलिला बेर्ना कहिले मुस्कुराउँछन् ?