Categories: विविध

गरिबीभित्रको आशा ,अभावका पाइला


अम्बिका कँडेल

स्थान: एउटा सानो, घाँसको छानो भएको कोठा। आमा बिस्तारमा पल्टिनुभएको छ, खोकी लागिरहेको छ। छोरी विद्यालय जाने तयारी गर्दैछिन्।
छोरी: (सानो भाइको कापी मिलाउँदै, अलि मलिन स्वरमा) आमा, मेरो कापी कलम छैन । शिक्षकले गृहकार्य गरेर आउनु भन्नुभएको छ।
आमा: (लामो सास फेर्दै, खोक्दै) खै छोरी, यो महिना अर्काको घरमा काम गर्न पनि जान सकिनँ। बिरामीले थला पारेको छ। हातमा एक सुका छैन, कसरी किन्ने होला?
छोरी: (आफ्नो च्यातिएको पोशाकलाई छाम्दै) आमा, साथीहरू त कति राम्रा लुगा लाएर आउँछन्। उनीहरूको हातमा त रंगीन झोला र महँगा शैक्षिक सामाग्रीहरु हुन्छन्। मेरो यो स्कुलको पोसाक पनि ठाउँ-ठाउँमा च्यातिएको छ। म त साथीहरूसँग बस्न पनि लजाउँछु।
आमा: (आँखाबाट आँसु पुछ्दै) नरोऊ छोरी। गरिबी भनेको रहर होइन, एउटा बाध्यता हो। मलाई थाहा छ, तिम्रा साथीहरू सम्पन्न छन् ,राम्रा लुगा लगाउँछन्। तर छोरी, हाम्रो संघर्ष उनीहरूको भन्दा फरक छ। तिमीले पढ्यौ भने मात्रै हामी यो अँध्यारोबाट बाहिर निस्कन सक्छौँ।
छोरी: तर आमा, भाइको पनि त झोला , जुत्ता च्यात्तिएको छ। बाबाले हामीलाई यसरी छोडेर जानुभयो, अनि तपाईँ पनि बिरामी हुनुहुन्छ। कहिलेकाहीँ त मलाई पढ्ने रहर नै मरेर आउँछ। यस्तो दुख गरेर पढेर के नै होला र?
आमा: (छोरीको हात समाउँदै) यस्तो नभन नानी! म आज अर्काको घरमा भाँडा माझेर, पसिना बगाएर जे गर्दैछु, त्यो तिम्रो भविष्यका लागि हो। म बिरामी होउँला, तर मेरो सपना तिमी नै हौ। तिमीले कलम समातेर आफ्नो भविष्य आफैँ लेख्यौ भने मात्रै मेरो यो दुःखको अर्थ हुन्छ। अहिले कापी-कलम छैन होला, तर तिम्रो दिमागमा ज्ञान छ, त्यो नै सबैभन्दा ठूलो सम्पत्ति हो।
छोरी: (आमाको काखमा टाउको राख्दै) माफ गर्नुहोस् आमा, मलाई थाहा छ तपाईँले कति कष्ट गर्नुभएको छ। म आजै शिक्षकलाई सबै कुरा भन्छु। सायद उहाँले मलाई केही मद्दत गर्नुहुन्छ होला। म हार मान्दिनँ आमा, तपाईँ छिट्टै निको हुनुहोस्, म पढेर तपाईँको सबै दुःख भुलाउँछु।
आमा: तिमीले यति बुझ्यौ, मेरो आधा दुःख त त्यहीँ हट्यो। पढेर ठूली मान्छे बन्नू, अनि यो समाजलाई देखाउनू कि गरिबको छोरी पनि आफ्नो भाग्य आफैँ कोर्न सक्छे।
विद्यालयमा
शिक्षक: (सबै विद्यार्थीहरूलाई कापी निकाल्न लगाउँदै गर्दा ती बालिकाको च्यातिएको झोला र उदास अनुहार देख्छन्।) नानी, तिमी अलि उदास देखिन्छ्यौ त? आज किन किताबहरू निकालिरहेकी छैनौ?
छोरी: (डराउँदै र आँखा झुकाउँदै) सर, मेरो आमा बिरामी हुनुहुन्छ। घरमा पैसा नभएर यो पटक कापीकलमहरू किन्न सकिनँ। मलाई पढ्ने असाध्यै रहर छ, तर…
शिक्षक: (नजिक आएर काँधमा हात राख्दै) नानी, तिमीले मलाई यो कुरा किन पहिले नभनेको? शिक्षा पाउने अधिकारमा गरिबी बाधक बन्नु हुँदैन। मलाई तिम्रो आमाको संघर्ष र तिम्रो मिहिनेतको बारेमा थाहा छ।
छोरी: सर, मलाई लाज लाग्थ्यो। साथीहरू सबैसँग राम्रा सामग्री छन्, म मात्र यस्तो छु।
शिक्षक: (कोठा बाहिरबाट एउटा झोला झिकेर दिँदै) ल, यो झोला र कापी-कलमहरू राख। यो हाम्रो विद्यालयको ‘विद्यार्थी सहयोग कोष’ बाट तिमीलाई दिइएको सानो सहयोग हो। तिमीजस्तो लगनशील विद्यार्थीले अभावमा पढ्न छोड्नु हुँदैन। म भोलि नै तिम्रो आमालाई भेट्न र आवश्यक परेको खण्डमा थप सहयोग गर्न घर पनि आउँछु।
छोरी: (खुसीले आँखा भरिँदै) सर, तपाईँको यो गुन म कहिल्यै बिर्सने छैन। म पढेर पक्कै पनि तपाईँको र मेरो आमाको सपना पूरा गर्नेछु।
शिक्षक: तिम्रो पढाइ नै हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो, नानी। आजबाट तिमीले निर्धक्क भएर आफ्नो पढाइमा ध्यान देऊ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“नेपाल देश”

अम्बिका धिताल भक्तपुर हिमाल हाम्रो चाँदी झैँ राम्रो हाँसेको हेरौँ न नेपाललाई नेपाली मिली मायाँले…

17 hours ago

फेसबुके औषधि

दुर्गा घिमिरे बारीको छेउमा गाँजाको एउटा बोट थियो। एक दिन हरिमानले फेसबुकमा कसैले लेखेको देखे—…

2 days ago

असारे खेत र मानिस

शोभा कोइराला खेतले अन्न फलाइदिन्छ प्राणीका निमित्त बुझेर कर्म मानिस गर्छन् खानका निमित्त दर्कियोस् पानी…

2 days ago

FIFA World Cup 2026 Round of 16

Canada vs. MoroccoParaguay vs. FranceETBrazil vs. NorwayMexico vs. EnglandPortugal vs. SpainUnited States vs. BelgiumArgentina vs.…

3 days ago

“आजको मान्छे”

उषा गुरुङ नझोसी दाउरा बल्दैन चुल्हो कसै गरी चुल्हो नबली पाक्दैन खाना त्यसै गरी। खाना…

3 days ago

“बर्खाको रमाइलो”

शालिकराम सत्याल आकाशबाट पानी झर्छ हरियाली चारैतिर छर्छ खेत बारी सबै हरिया हुन्छन् गाउँमा नयाँ…

3 days ago