सुर्यनाथ कोइराला
कुनै जङ्गलमा एउटा गाई र एउटा घोडा बस्थे। जङ्गलभरि लहलहाउँदो घाँस थियो। ती दुबै त्यही घाँस चरेर बसेका थिए । एक दिन घोडाले सोच्यो- “यो गाई नभए त सिङ्गै वनमा मेरो रजाइँ हुन्थ्यो । यो सबै मीठो घाँस म एक्लै खान पाउँथें ।”
घोडाले गाईलाई त्यस जङ्गलबाट खेद्ने उपाय खोज्न थाल्यो । ऊ एक जना मान्छेकहाँ पुग्यो र नम्र भएर भन्यो-“ए मान्छे, तपाईँलाई थाहा छैन ? हेर्नुहोस्, त्यस गाईका कल्चौँडामा अमृतसमान दूध छ। त्यसलाई समात्नुहोस् र थुनबाट दूध दुहेर खानुहोस् ।”
मान्छेले भन्यो- “घोडा, तिमीले राम्रो कुरा गर्यो, तर हेर, त्यो गाई अति चङ्ख छ । समात्न खोज्यो कि बुर्कुसी मारेर दगुर्छ । कसरी समात्ने ?”
घोडाले भन्यो-“तपाईँ चिन्ता नलिनुहोस् । मद्दत गर्ने म छँदैछु नि । म गाईभन्दा धेरै छिटो दगुर्न सक्छु । आउनुहोस्, मेरो बुई चढ्नुहोस् । म गाईको पछिपछि दगुरिदिन्छु । अनि त तपाईँ त्यसलाई सजिलैसित समात्न सकिहाल्नुहुन्छ नि !”
घोडाको कुरा सुनेपछि मान्छे उसको बुई चढ्यो । घोडा गाई भएतिर दगुर्यो । गाई सकेसम्म बलले भाग्यो, तर घोडाजति दगुर्न सकेन । अन्त्यमा उसलाई मान्छेले समात्यो । उसले गाईलाई घरमा लगेर बाँध्यो।
घोडा खुसी भयो । सबै जङ्गल अब उसकै भयो।
त्यो मीठो घाँस अब उसले कति खानु! कुरो घोडाले सोचेजस्तो भएन।
घोडाको बुई चढ्दा मान्छेलाई निकै मजा भएको थियो । उसले घोडालाई पनि घरमा लगेर दाम्लाले बाँध्यो । गाईलाई बन्धनमा पार्न खोज्दा घोडाले आफूलाई पनि बन्धनमा पार्यो।
शिक्षा: अति लोभ र अरूको हानि चिताउँदा अन्ततः आफ्नै नोक्सानी हुन्छ र स्वतन्त्रता समेत गुम्छ। अरूलाई फसाउन खोज्दा हामी आफैँ बन्धनमा पर्न सक्छौँ।
Nil Kantha Sharma सरकाे वालबाट साभार !
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…