
ह्रदय लेकाली
बोल्दैन लाटो जब बोल्न थाल्छ
ढुङ्गा र माटो पनि बोल्छ थाल्छ
त्यो जून तारा सब खुल्न थाल्छ
त्यो घाम सारा दुनियाँ नियाल्छ।
हेपेर मान्छे तल पर्छ भन्दा
आफै त पर्यो तल मै हुँ भन्दा
गोलो छ पृथ्वी सब ठाउँ घुम्छ
बेला र मौका सब ठाउँ चुम्छ।
मान्छे हरामी हुनुहुन्न कोही
स्वार्थी र ढोँगी हुनुहुन्न कोही
छोपेर मौका पनि डस्नु हुन्न
पाएँ त खाएँ भनि फस्नु हुन्न।
लोभी र पापी जब बन्छ मान्छे
औकात बिर्सी सब बन्छ मान्छे
राम्रो र जाती न त हुन्छ कही
मर्दा खरानी न त जान्छ केही।
जानेर मान्छे किन हेप्छ मान्छे
मान्छे भएरै किन हेप्छ मान्छे
लाटो र बाठो सब सृष्टि फूल
हेपेर मान्छे नगरौँ नि भूल।
बाँचेर मान्छे हुनुहुन्न लास
बाँचेर मान्छे नबनोस् पिचास<
यो देह हाम्रो भ्रम अन्न पानी
राम्रा गुणै हुन् सबसाथ जाने।





