Categories: बाल कथा

टिफिन


इन्दु उपाध्याय
हेलेम- मिसामारी,आसाम

मध्याह्नको घण्टी बज्नासाथ सबै विद्यार्थीहरू आफ्ना टिफिन खोल्न थाले। कसैको बक्समा चाउमिन थियो, कसैकोमा केक र बिस्कुट। साथीहरू हाँस्दै, साटासाट गर्दै खाइरहेका थिए।
तर प्रकाश भने कक्षाको कुनामा चुपचाप बसेको थियो। आज पनि उसको टिफिन खाली थियो।
“तँ सधैँ टिफिन किन ल्याउँदैनस् ?” एक साथीले सोध्यो।
प्रकाशले टाउको झुकायो। ऊसँग जवाफ थिएन।
त्यही बेला विद्यालयको गेटतिर हलचल भयो। एक महिला हतारिँदै आँगनमा छिरिन्। उनको सारी ठाउँठाउँमा फाटेको थियो। चिरिएका हातमा पुरानो स्टिलको डब्बा थियो। गोडामा लगाएका च्यातिएका चप्पलहरू उनका गरिबीका मौन साक्षी बनेका थिए। चाउरी परेका गाला, कालो भएका नङ र पसिनाले फुलेको निधारले उनको संघर्ष छर्लङ्ग देखिन्थ्यो।
उनी प्रकाशकी आमा थिइन्।
सास फेर्नै गाह्रो हुँदै उनले भनिन्, “बाबु… बिहान काममा हतार हुँदा टिफिन दिन बिर्सिएछु।”
कक्षाका सबै विद्यार्थीहरूको नजर उनीतिर गयो। प्रकाश लाजले भुइँतिर हेरिरह्यो।
आमाले डब्बा खोलिन्। भित्र दुईवटा सुख्खा रोटी र थोरै नुन–खुर्सानी थियो।
अचानक एउटा थोपा आँसु डब्बामाथि खस्यो।
“माफ गर बाबु,” आमाले भक्कानिँदै भनिन्, “आज घरमा तरकारी किन्ने पैसा पनि थिएन।”
त्यो सुन्नासाथ प्रकाशले आमाको हात समात्यो। ती चिरिएका हातहरू कति कठोर थिए, तर त्यसभित्रको माया संसारकै कोमल थियो।उसले रोटीको टुक्रा मुखमा हाल्दै भन्यो, “आमा, मलाई योभन्दा मिठो टिफिन कहिल्यै चाहिँदैन।”
त्यो क्षण कक्षाभरि सन्नाटा छायो। कसैको चाउमिन, कसैको केक र कसैको बिस्कुटभन्दा ती दुईवटा सुख्खा रोटी धेरै मूल्यवान् देखिएका थिए। किनकि त्यहाँ रोटी मात्र थिएन, एउटी आमाको भोक, पसिना, संघर्ष र अथाह माया मिसिएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भोक

रीता मिश्रा तिवारी भागलपुर बिहार वि जीको बैठक कोठामा आज छलफलको विषय भोकमरी र बेरोजगारीको…

2 hours ago

खुशी

गीताश्री शर्मा गान्तोक, सिक्किम प्रदुषणमुक्त गाउँ शान्तिनगर जसलाई सूर्यको पहिलो किरणले छुनेगर्छ । सूर्यको पहिलो…

2 hours ago

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

2 days ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

2 days ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

3 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

3 days ago