
कृष्णशरण उपाध्याय पौडेल
हिमाली पहाडी मधेसीहरूमा
स्वदेशी सबै लेक – बेसीहरूमा
नयाँ वर्ष ले मन्द मुस्कान ल्याओस्
हँसी या खुशी को उषागान ल्याओस्।
कराही कचौरी र थालीहरूमा
खला – खेतबारी र आलीहरूमा
नयाँ वर्ष ले मन्द मुस्कान ल्याओस्
भरीपूर्ण खाद्यान्न या धान्य ल्याओस्।
धराका अनेकौँ गरा – उर्वरामा
सबै ती अँध्यारा कुना – कन्दरामा
नयाँ वर्षले मन्द मुस्कान ल्याओस्
उज्यालो दिने ज्ञान विज्ञान ल्याओस्।
धुला या हिलायुक्त बाटाहरूमा
दिशाहीन सम्पूर्ण पाटाहरूमा
नयाँ वर्षले मन्द मुस्कान ल्याओस्
यहाँका सबैमा समुत्थान ल्याओस्।
स्वसंस्कार दीक्षा र शिक्षा – कलामा
स्वजातीयता सभ्यता – शृङ्खलामा
नयाँ वर्षले मन्द मुस्कान ल्याओस्
पुनः राष्ट्रमा मान सम्मान ल्याओस्।





