इन्दु उपाध्याय
विश्वनाथ, असम
परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै बढ्दै थियो। विद्यालयबाट परीक्षाको तालिका आएदेखि नै सीता छोरालाई पढ्न सम्झाइरहन्थिन्। मोबाइल चलाएको देखे गाली गर्थिन्, किताब खोलेर बसे पनि ध्यान दिएर पढेको छ कि छैन भनेर हेरिरहन्थिन्। उनलाई लाग्थ्यो, अहिले छोरालाई कडा निगरानीमा नराखे पछि पछुताउनुपर्नेछ। तर आर्यनको मनमा के चलिरहेको थियो, उनले बुझ्न सकेकी थिइनन्। ऊ पढ्न बस्दा पनि मन एकाग्र गर्न सक्दैनथ्यो। मोबाइलमा साथीहरूका रमाइला भिडियो हेर्दा आफू पनि त्यतै आकर्षित हुन्थ्यो। सामाजिक सञ्जालमा अरूका सफलता देख्दा आफू केही गर्न नसक्ने हो कि भन्ने डर लाग्थ्यो। त्यसमाथि परीक्षामा राम्रो अंक ल्याउनैपर्ने दबाब थियो। आमाको अपेक्षा पूरा गर्न नसके के होला भन्ने सोचले ऊ झन् आत्तिन्थ्यो। तर आफ्नो समस्या आमालाई सुनाउन सक्दैनथ्यो। कतै फेरि गाली खानुपर्ने हो कि भन्ने डर थियो। परीक्षाको अघिल्लो रात आर्यन किताब अगाडि राखेर बसिरहेको थियो। पढेका कुरा पनि सम्झन नसक्दा उसलाई रुन मन लाग्यो। त्यही बेला सीताले अधुरो पाठ्यक्रम देखेर फेरि सम्झाउन थालिन्। छोराको आँखामा आँसु देखेपछि भने उनी रोकिइन्। पहिलोपटक उनलाई लाग्यो, छोराले पढ्न नचाहेको मात्र होइन, कतै असफल हुने डरले नै पढ्न नसकेको त होइन? त्यसपछि सीताले छोरालाई गाली गर्नुभन्दा उसको कुरा सुन्न थालिन्। पढाइसँगै खेल्ने र आराम गर्ने समय पनि छुट्याइन्। मोबाइल प्रयोगमा सीमा राखिन्, तर पढाइमा सानो प्रगति हुँदा पनि प्रशंसा गर्न थालिन्। उनले बुझिन्—आजका बालबालिकालाई किताब र अनुशासन मात्र होइन, मनको कुरा सुनिदिने अभिभावक पनि चाहिन्छ। डरले बच्चालाई पढ्न त बसाउन सक्छ, तर आत्मविश्वास र मायाले मात्र उसलाई जीवनमा अघि बढ्न सिकाउँछ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…