Categories: कविता

प्रकृतिको कहालीलाग्दो उपहार


शोभा कोइराला

कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ
पीडा यो यति खप्नुपर्छ किन हो केनिम्ति के कालमा
तिम्रा नेत्र अगाडि नै हिउँ बग्यो लाचार आँखा रहे
यस्तो ताण्डव गर्दछौ किन विभो!बर्साद आँसु भए।

ढल्दा भव्य विशाल आकृतिहरू देखेर रोयो मन
भक्कानिन्छ अदृश्यमा विपदका देखेर सारा जन
केही गर्न सकिन्न दर्शक बनी कालो बन्यो लालिमा
यो बेला विष कालकूट पिउने छैनन् भयो कालिमा।

बस्ती छैन हिलो छ दल्दल सबै पातालको दुर्दशा
तिम्रो ताण्डव नाच यो हुनगयो उत्पातको मूर्खता
देख्ने नेत्र रसाउँदै सकसमा निश्वास फेर्दै रह्यो
बाधाविघ्न हटाउने सकल हे!आकाश तिम्रो बच्यो।

सन्नाटा छ जताततै कहरको वैराग्यको छाल छ
यो उत्पात मचाउने हृदय हे! तिम्रो कहाँ हार छ
सारा ध्वस्त गराउँदै चुप बन्यौ हे ईश! रक्षा गर
छैनन् हर्ष हतास मात्र भरियो यस्तै छ तिम्रो भर।

त्यो चट्टान फुटाउँदै शिखर हे!लेदो पठायौ तल
केका लागि कठोर यो नियतिले थप्दैछ झन् दल्दल
रक्षा गर्नुहवस् क्षमा गरिदिनोस् हे ईश! चाँडै अब
आफ्ना सन्ततिनिम्ति दु:ख नपरोस् यो बुझ्नुहोस् दैवत।

बाढी माथि अझै अझै थपिदियौ राम्रो परीक्षा लिन
रुन्छन् पीडित देख मूर्छित बनी आफै समीक्षा दिन
यो बीभत्स गराउँदै असुरझैँ जे गर्न सक्छौ गर
बिन्तीपत्र बुझाउँदै हृदयले उद्धार गर्छन् नर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

39 minutes ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

53 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago