नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतीराम भट्ट । मोतीराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात माध्यमिक कालका प्रवर्तक हुन । नेपाली साहित्याकाशमा या भनु नेपाली भाषामा एउटा नयाँ र नौलो आयाम भित्रयाई नेपाली साहित्याकाश र नेपाली भाषामा अतुलनिय योगदान दिने यी महान हस्तीको जन्म पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवि भट्टका दोस्रो सन्तानका रुपमा वि.सं.१९२३ साल कुशेऔंसीका दिन काठमाडौको भोसिको टोलमा भएको थियो । ६ बर्षको सानो उमेरमा नै उनी शिक्षा हासील गर्ने क्रममा वाराणसी पुगेका थिए । सानैदेखि साहित्यमा अभिरुचि बोकेका÷देखाएका उनले उर्दू लगाएत अन्य साहित्यका विधाको राम्रो अध्ययन गरेका थिए । उनी होनाहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु, स्वदेशी बोल्नु पर्दछ भन्ने सपना देख्थे । वाराणसीबाट नेपाल फिर्ती भई आएपछि १५ बर्षकै उमेरमा यिनले विवाह गरे । उनी दरबार स्कुलमा भर्ना भई स्कुल जीवन बिताइ सकेर फेरि उच्च शिक्षा हासिलका निम्ति कलकत्ता पुगे र त्यहाँ नै मास्टर डिग्रीसम्मको शिक्षा हासिल गरेका थिए । अध्ययनलाई विशेष ध्यान दिने उनीमा नेपाली,संस्कृत, उर्दू लगायत अन्य भाषाको राम्रो ज्ञान थियो । यिनै महान् व्यक्तित्वले १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा समर्पण गरेर नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति ख्याएका थिए । उनले भानुभक्तलाई सपना र विपना जप्ने गर्थे । वास्तवमा नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्य जस्ता एउटा साधारण व्यक्तिको यथेष्ट कदर गरेका थिए । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई घुँडा टेकेर उठाएको हुनुपर्दछ । मोतीराम भट्टले भानुभक्त आचार्यका विषयमा लेखेका प्रायः सबै बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रुपमा ग्रहण छ । मोतीराम भट्ट जोसंग पनि खुलस्त हुन्थे । उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कुलमा उनका सहपाठी चन्द्रशमशेर थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्ट पढाईमा तेजिला थिए । यिनले दरबार हाईस्कुलको १० कक्षा अध्ययन गरिरहेको बेला अर्थात १९४८ सालमा बेलायतबाट नेपाल भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कुलको निरिक्षणमा गएका थिए । त्यसैबेला मोतीराम भट्टलाई लर्ड राबटले पुरस्कार स्वरुप पन्ध्रवटा ग्रन्थ दिएका थिए । उनी ठाउँ हेरी सबैमा आवश्यकताबमोजीम केन्द्रित हुने गर्थे । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, संग्ठनकर्ता, पुस्तकालय स्थापक पनि उनी नै थिए । मोतीराम भट्ट कवि, गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गाएक पनि थिए । त्यतिमात्र होइन उनी एउटा मौलिक नाटककार तथा नाटक निर्देशक थिए । बनारस बसेका बेलामा मोतीराम भट्टले राम्रा राम्रा गजल गाएका थिए । त्यसैबेला यिनले सितारवादन पनि जानेका थिए । बनारसमा बस्दा यिनले चार सयजति शायरीहरु लेखिसकेका थिए तर त्यसबेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन् । कतै युगल दोहोरी र जुहारी त कतै रातभरि श्लोकमा जुहारी खेलेको सुनेपछि उनलाईपनि नेपाली भाषामा विशेष रुचि र ज्ञान पलायो र यस्ता गीतहरुलाई हृदयमा रोप्न र मष्तिस्कमा खेलाउदै स्वरद्वारा प्रस्तुत गर्न थाले । ती सबै श्लोकहरु भानुभक्तले लेखेका हुन भन्ने थाहा पाएपछि मोतीराम भट्टले भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले साथै कृतिहरु खोजीखोजी प्रकाशन गर्ने काममा गरे । आफ्नी श्रीमतीलाई लिएर संवत १९३८ मा काशी पुगे र यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरु भटाभट छापे ।साथीहरु पद्यविलास पन्त, काशीनाथ, तेजसिंह र तेजबहादुर रानाहरुको सक्रियता र सहयोगमा बनारसमा एउटा मित्रमण्डलीको गठन गरी यिनले समस्या पूर्तिका कवितालगायत अन्य फुट्कर कविता र गजललेखनको अभियान पनि चलाउन थाले साथै रामायण पनि प्रकाशित गराए । संवत १९४४ फागुनमा फेरि बनारसबाट काठमाडौ आएपछि आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौ ठहिटीमा मोतीकृष्ण कम्पनी खोले । त्यसैबेला उनले पुस्तकालयपनि खोलेका थिए । मोतीराम भट्ट विशेषतः श्रृङ्गारवादी साहित्यकार थिए । उनी जोसँग पनि भुतुकै हुन्थे । अति मिलनसार भएकाले उनीसंगपनि धेरैले घनिष्टता जोडेका थिए अनि यी केटीहरु भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रै प्रीति गाँसे । यिनमा केटिहरुको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकाशं गजलहरु पनि श्रृङ््रगार रसले भरिएका नै पाइन्छ । यिनले सुन्दरीसँग बोल्न पाए भने मीठामीठा कविता लेख्न थाली नै हाल्थे । यिनका श्रृङ्गार रसका धेरै कविताहरु केटीहरुसँग कै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् जस्तैः यी सानै उमेरदेखि मन हर्न लागे यिनै सुन्दरीले जुलुम गर्न लागे ।। मोतीराम भट्टले नेपाली साहित्याकाशमा पन्ध्र बर्षजति सक्रिय रुपमा सेवा गरे र त्यस अवधिमा उनले झन्डै पच्चीस वटाजति साहित्यिक कृतिहरु लेखे, सम्पादन गरे । भानुभक्त आचार्यको रामायण लगाएत अरु लेखकका कृतिहरु पनि प्रकाशित गराए । मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र संगठनात्मक साहित्यिक कार्यहरु गरेका थिए । उनले गरेका समस्त कार्यहरुको मूल्याङ्कन गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छः- १) जीवनीकार, समालोचक तथा अन्वेषक २) कवि, गजलकार तथा गायक ३) समस्यापूर्तिकार तथा संघठनकर्ता ४) नाटककार तथा निर्देशक ५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्मातामोतीराम भट्ट नेपाली साहित्यप्रदेशका एउटा अलौकिक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, संगठनका प्रेरक, श्रद्वेय र आधिकारिक पुरुष थिए । पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै, अरुलाई लेख्ने प्रेरणा दिदै यिनले नेपाली धर्तीलाई बिर्सिनसक्नुको गुन लगाएका छन् । नेपाल, नेपाली र नेपाली साहित्यप्रति सदैव मरिमेट्ने यस्ता ठूला सपुत शारीरिक अस्वस्थताका कारण सात महिना ओछ्यानमा थला परेर कुशे औँसीमा ३१ बर्ष लागेकैदिन १९५३ सालमा काठमाडौको पशुपति आर्यघाटमा स्वर्गीय भए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन् । उनका नाउँमा कैयौ संघसंस्था, बाटोघाटाको निर्माण भएका छन् । उनका नाउँमा हूलाक टिकट निकालिएको छ । उनैको नाउँमा युवावर्ष मोती पुरस्कार समेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिंढीको सर्वोच्च पुरस्कारका रुपमा रहेको छ । बहूमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । उनको यो मुलुकप्रति अत्यन्त ठूलो सद्भावना थियो । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो ।
श्रोतः मुग्लानी खबर डट कम
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…