इन्दु उपाध्याय
हेलेम-मिसामारी,आसाम
साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक सञ्जालका भिडियो, सन्देश र समाचारमा ऊ यति डुबेको थियो कि वरिपरि के भइरहेको छ भन्ने उसलाई कुनै होस नै थिएन।
त्यही बेला उसका सात वर्षका छोरा आरव हातमा रंगीन कागजले बनाएको एउटा फूल लिएर दौडँदै आयो।
“बुबा, हेर्नुस् न ! मैले आफ्नै हातले बनाएको,” आरवले उत्साहित हुँदै भन्यो।
रोशनले मोबाइलबाट आँखा नहटाईकनै उत्तर दियो, “हुन्छ बाबु, धेरै राम्रो छ।”
आरव केही क्षण चुपचाप उभिरह्यो। उसले बुबाको अनुहारमा मोबाइलको उज्यालो परिरहेको देख्यो, तर त्यो उज्यालोमा बुबाको मुस्कान भने हराएको थियो।
ऊ बिस्तारै रोशनको नजिक आयो र मोबाइलको पर्दातिर हात बढायो।
रोशन झर्किँदै भन्यो, “आरव ! किन बारम्बार मोबाइल छुन्छौ ? मलाई काम गर्न देऊ।”
आरव डराउँदै पछि हट्यो। तर केही क्षणपछि उसले बुबातिर हेर्दै नरम स्वरमा भन्यो,
“बुबा, म मोबाइल लिन आएको होइन। म त तपाईंको अनुहार हेर्न आएको। यो मोबाइलको उज्यालोले तपाईंको साँचो मुस्कान छोपिदिएको रहेछ।”
रोशनका औँलाहरू एकाएक स्थिर भए। उसले पहिलोपटक मोबाइल बन्द गरेर छोरातिर हेर्यो। आरवको हातमा रहेको सानो कागजी फूलभन्दा पनि ठूलो प्रेम उसको आँखामा चम्किरहेको थियो।
रोशनले आरवलाई काखमा राख्दै भन्यो, “मलाई माफ गर बाबु। अब तिम्रो फूल पनि हेर्छु, अनि तिम्रो मुस्कान पनि।”
त्यो साँझ रोशनले महसुस गर्यो—मोबाइलको उज्यालोले संसार देखाउन सक्छ, तर आफ्ना प्रियजनको अनुहारमा चम्किने साँचो खुशी भने केवल साथ र समयले मात्र देख्न सकिन्छ।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…