ल्होसार पर्वको महत्व

पूर्णबहादुर कटुवाल

आज पुस १५ गते हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको महत्वपूर्ण पर्व ल्होसार । आज हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, भोटिया र दुरा समुदायका नेपालीहरुले विशेष महत्वका साथ मनाइरहेका छन् । हिमाली र पहाडी भागमा बसोबास गर्ने यी समुदायले ल्होसारलाई एकै दिन नमनाएर आ–आफ्नो रीति, परम्परा र संस्कार अनुसार फरक–फरक समयमा मनाउने गर्दछन् । पुस १५ गतेबाट शुरु भएको ल्होसार पर्व आफ्नो परम्परा अनुसार जनजाति समुदायले फागुन शुक्ल प्रतिपदासम्म मनाउने गरिन्छ।
तिब्बती भाषाको ‘लो’ र ‘सार’ बाट बनेको ल्होसारमा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हुने भएकोले यस पर्वलाई ‘नयाँ वर्ष’का रुपमा मनाउने गरिन्छ । त्यसैले तिब्बती क्यालेण्डर अनुसार यस पर्वलाई पुरानो वर्षको अन्त्य र नयाँ वर्षको आगमनको रुपमा मनाउने प्रचलन भएको विभिन्न संस्कृतिविद्हरुले उल्लेख गरेका छन् । तिब्बतीयन सांस्कृतिक परम्परा अनुसार पुरानो वर्षलाई मृत वर्षका रुपमा लिइन्छ । पुरानो वर्षलाई हटाएर नयाँ वर्ष ल्याउन विशेष संस्कार गर्नुपर्छ त्यो संस्कार नै ल्होसार पर्व हो।
हिमाली भागमा वसोवास गर्ने समुदायले यस पर्वलाई आ–आफ्नो अनुकूलता अनुसार तीन किसिमका ल्होसार मनाउने प्रचलन रहेको छ । आज पुस १५ गते मनाउन लागिएको ल्होसार तोला ल्होसार हो । यो पर्व विशेष गरि गुरुङ र दुरा जातिले मनाउने गर्दछन् । आजको दिन एउटा वर्ग सकिएर हरेक १२ वर्षमा एउटा वर्ग चक्र समाप्त हुने विश्वास गरिन्छ । यी १२ चक्रको नाम १२ वटा जीवजन्तु र पशुपंक्षीको नाम नामबाट राखिएको हुन्छ।
जस अनुसार खि–ल्होलाई कुकर वर्ग, फा–ल्होलाई सुँगुर वर्ग, लो–ल्होलाई गोरु वर्ग, तो–ल्होलाई वाघ वर्ग, चुई–ल्होलाई मुसा वर्ग, घु–ल्होलाई खरायो वर्ग, मुभ्रि–ल्होलाई ड्रागन वर्ग, सम्रि–ल्होलाई सर्प वर्ग, त–ल्हो लाई घोडा वर्ग, ल्यु–ल्होलाई भेडा वर्ग, प्र–ल्होलाई वाँदर वर्ग र भ्य–ल्होलाई चरा वर्गमा विभाजन गरिएकोछ।
यी समुदायले तोला ल्होसारममा बुद्ध मूर्ति स्थापना गरि लामा पुजारी बोलाएर परम्परा अनुसार पूजाअर्चना गर्ने र आफन्त बोलाएर भोजभतेर गरी मनोरञ्जन गर्ने प्रचलन छ । यही समुदायले मनाउने दोस्रो ल्होसार पर्व सोनाम ल्होसार हो । सोनामको अर्थ ऋतु परिवर्तन भन्ने भएकोले हिमाली जातिहरुले नै यस ल्होसारलाई ऋतु परिवर्तन भएको संकेतका रुपमा शिशिर ऋतु समाप्त भएर वसन्त ऋतुको आगमन हुने भएकोले माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने प्रचलन छ।
यसदिन यो पर्व मनाउने समुदायले घर, आँगन, बाटोघाटो, पँधेरो, टोलको सरसफाई गरी रंगी–विरंगी तोरण, ध्वजापताका टाँगेर भगवान बुद्धको पूजाअर्चना गरि यो पर्व मनाइन्छ । यसै अवसरमा गाउँघरमा रहेका आफन्त, मान्यजनलाई भेटेर नाचगान गर्ने र परम्परा अनुसारका मासुमंशका परिकार लगायतका भोजन खाएर मनाउने गरिन्छ ।
खास गरी शेर्पा समुदायले आफ्नो अनुकूलता अनुसार मनाउने ल्होसार पर्व ग्याल्वु ल्होसार हो । तिब्बतीयन पात्रो अनुसार फाल्गुन शुक्ल प्रतिपदाको दिनलाई नयाँ वर्ष प्रवेशको दिन मानेर यस पर्वलाई विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । प्रतिपदाको दिन शुरु भएर यो पर्व लगातार १५दिनसम्म मनाउने गरिन्छ । अन्य ल्होसार पर्व मनाए अनुसार नै यसदिन घर–आँगन, चोकगल्ली, बस्ती सरसफाई गरी ध्वजापताका टाँगेर रंगी–चंगी बनाई आफन्तहरुलाई आमन्त्रण गर्ने र भोजभतेर गर्ने गरिन्छ।लामालाई बोलाई घर गुम्वामा पूजाआजा गर्ने र नाचगान, खानपीन गरेर रमाइलो र उल्लासमय वातावरणमा यो पर्व मनाउने गरिन्छ ।
नेपालका जाति जनजातिले मनाउने धेरै चाडपर्वहरु मध्ये हिमाली र पहाडी क्षेत्रका भोटवर्मेली आदिवासी समुदायहरुले मनाउने गरेको ल्होसार ज्याँदै महत्वपूर्ण पर्व मानिन्छ । यस पर्वको सांस्कृतिक विशेषता भनेको लोफट तयार गर्नु, बुद्ध र मूर्ति पूजा गर्नु, खाप्सा भन्ने विशेष किसिमको परिकार र गुथुक नामको नौ थरिका खानाको परिकार बनाएर खानु हो । ल्होसार पर्व तिब्बत, चीन, सिक्किम भुटान लगायतका देशमा मनाउने प्रचलन रहेको छ । यो पर्वलाई महत्व दिंदै नेपाल सरकारले वि.सं. २०५३ सालदेखि राष्ट्रिय पर्वका रुपमा लिएर सार्वजनिक विदा दिन शुरु गरेको थियो । यसले सम्बन्धित जातिको संस्कृति संरक्षण, टाढा रहेका इष्टमित्र, वन्धुवान्धवसँगको भेटघाट, दुःख, दर्द, रोगव्याधी र अशुभलाई हटाएर शान्ति, सुख र दीर्घायुको कामना गरि आपसी सम्वन्ध विस्तार गर्ने माध्यमका रुपमा लिइने गरिन्छ ।
अहिले मुलुक संघीय गणतान्त्रिक ढाँचामा रुपान्तरित भइसकेको अवस्था छ । संघीय प्रणाली अनुसार निश्चित जातजातिको बसोबास भएको क्षेत्रलाई विशेष मान्यता दिइने भन्दै सार्वजनिक विदालाई सीमित गरिएको र त्यही क्षेत्रलाई मात्र प्रान्तीय कानूनको प्राथमिकता दिइँदै आएको छ । अहिले ग्लोवलाइजेशनको युगमा विभिन्न जातजाति संकुचित क्षेत्रमा मात्र सीमित भएर बसोबास गरेको अवस्था छैन । तीव्र शहरीकरण, विद्युतीय प्रविधिको द्रुततर विकासका कारणले मानिसको बसोबास छरिएको छ । तर, राज्यले यसतर्फ ध्यान दिन सकेको आभाष पाइँदैन भन्ने व्यापक जनगुनासो समेत सुनिन थालेको छ । सरकारले क्षेत्रीय आधारमा मात्र जातजातिको उद्भव, विकास, बसोबास र संस्कृति परम्पराको संरक्षण गर्ने बहानामा कानूनी र स्वतन्त्रताका संकीर्ण व्यवहारले लोकतान्त्रिक शासन प्रणालीको व्यवहारिकतामा प्रदर्शन गर्न सकिरहेको छैन । यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई इज्जत दिएको मान्न सकिँदैन ।
नेपालीका मौलिक चाडपर्व, संस्कृति र मनोरञ्जन लगायतका पक्षमा वर्तमान राज्यव्यवस्था थप लचिलो भएर स्वतन्त्रताको पक्षमा उभिन सके आमनेपालीले गर्वका साथ सबै मौलिक चाडपर्वलाई एकताको बलियो आधार मान्न सहज हुन सक्छ । नेपालीको पहिचान बनेका नेपाली संस्कार र संस्कृतिलाई राज्यले सम्मान गर्न सकेमात्र राष्ट्रिय एकता र सद्भाव बलियो हुन सक्छ ।

श्रोतःhttps://purwanchaldaily.com/

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

17 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago